गृहपृष्ठ बुबाबाटै बलात्कृत ११ वर्षीया छोरीले रुँदै भनिन्– नमाने मर्छेस् भन्थे
बुबाबाटै बलात्कृत ११ वर्षीया छोरीले रुँदै भनिन्– नमाने मर्छेस् भन्थे
मुलुकमा अहिले बलात्कार, हत्या, हिंसाका घटना बढेको भन्दै चौतर्फी विरोध भइरहेको छ । यही बीचमा ललितपुरमा एउटा यस्तै घटना भएको छ, जहाँ बुबाले आफ्नी ११ वर्षीया छोरीको बलात्कार गरी गर्भवती बनाउँछन् र अपराध लुकाउन गर्भपतन पनि गराउँछन् । यो घटना सुन्नेलाई अचम्म लाग्न सक्छ । तर, ललितपुरको गोदावरी नगरपालिका ११ मा घटेको यो वास्तविक घटना हो ।
चापागाउँमा ११ वर्षीया छोरी ममता (नाम परिवर्तन) लाई जर्बजस्ती करणी गरी गर्भवती बनाइ उनका बुबा भीमबहादुर (नाम परिवर्तन)ले गर्भपतनसमेत गराएको घटना बाहिर आएको छ । प्रहरी अनुसन्धानपछि यो घटनाबारे थाहा भएको हो ।
भीमबहादुरले ०७४ चैत १५ गते राति ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटक–पटक छोरी ममतालाई करणी गरेका थिए । कसैलाई भनिस् भने मारिदिने धम्की दिँदै उनले करणी गर्ने गरेको कुरा ममताले अदातलमा बताएकी छन् । जिल्ला सरकारी वकील कार्यालयका सूचना अधिकत रमेश भट्टराईका अनुसार जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएको ममताले बताएकी छन् ।
यो कुरा सुनेपछि गर्भवती भएको वा नभएकोबारे जाँच गर्न भीमबहादुरले ममतालाई अस्पताल लगेका थिए । त्यहाँ उनले छोरीले आफ्नै पेट बोकेको थाहा पाए । त्यसपछि उनले छोरीलाई तिम्रो पेटमा पानी भरिएको भन्दै अस्पताल लगेर जचाउँनुपर्ने बताए । ११ वर्षीया छोरीलाई धेरै कुरा के थाहा हुनु ? ममताले हुन्छ भनिन् । छोरीको गर्भपतन गराउन उनले मेलेसियामा रहेकी श्रीमतीलाई ५० हजार रुपैयाँ पैसा पठाइदिन भने । छोरीको रोगबारे स्पष्ट नबुझे पनि श्रीमतीले हत्तपत्त ५० हजार रुपैयाँ पठाइदिइन् ।
त्यसपछि भीमबहादुरले चाबहिलमा रहेको सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरमा लगे । त्यहाँ आफ्नो देब्रे पाखुरामा सुई दिएको थाहा पाए पनि त्यसपछि के भयो आफूलाई थाहा नभएको ममताले अदालतमा बयान दिएकी छन् । ‘भोलिपल्ट म होसमा आउँदा मेरो योनीमा प्याड लगाएको र रगत बगिरहेको थियो, अहिलेसम्म मेरो पेट दुखिरहन्छ,’ ममताले भनेकी छन् ।
३ वर्षअघि आमा मलेसिया गएपछि ममता र उनकी बहिनी बुबासँगै डेरामा बस्न थाले । आफ्नो संरक्षक बुबाले नै आफूमाथि यस्तो गर्लान् भन्ने उनले कल्पना पनि गरेकी थिइनन् ।
छोरीको अप्रेसन नै गर्नुपर्ने स्थिति आएको थाहा पाएपछि भीमबहादुरकी श्रीमतीको मन थामिएन र उनी श्रीमानलाई थाहै नदिई घर आइन् । तर, श्रीमती फर्केको थाहा पाउनेबित्तिकै भीमबहादुर छोरीसहित फरार भए ।
त्यसपछि भीमबहादुरकी श्रीमतीले श्रीमान र छोरी हराएको भन्दै प्रहरीमा जाहेरी दिइन् । त्यसको केही दिनमै भीमबहादुर र ममतालाई प्रहरीले पत्ता लगायो । आमालाई अगाडि देखेपछि ममतालाई आफूमाथि घटेका सबै वृतान्त रुँदै सुनाइन् । भीमबहादुरले पनि छोरीमाथि करणी गरेको स्वीकार गरे । उनले बयान दिँदा भनेका छन्, ‘मैले गल्ती गरेँ, मलाई जस्तो सजाय दिँदा पनि कमी हुन्छ, बरु फाँसी दिनुस् ।’
प्रकाशित समय : २१:५८ बजे



















