न्यायाधीश जोशीविरुद्ध महाअभियोगको तयारी
वि.सं.२०७५ असोज ५ शुक्रवार १३:५३
shares

प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।
संसदीय सुनुवाई समितिबाट अस्वीकृत भए पनि सर्वोच्च अदालतमा काम सुरु गरेको भन्दै नेकपाका सांसदले महाअभियोगका लागि हस्ताक्षर संकलन गरेका छन् । बिहीबार संसद भवनमा नेकपा नेता देव गुरुङले आफ्ना सांसदलाई शंकर हलमा बोलाउँदै खाली कागजमा हस्ताक्षर गराएका थिए ।
प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने बाचा तोडेको नेकपाले आरोप लगाएको छ । प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्ति न्यायसम्पादनका फेरि फर्किनु उचित नहुँने सुनुवाई समितिका एक सदस्यले बताए ।
उनीविरुद्ध बिहीबारकै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी थियो । तर, तयारी नपुग्दा बिहीबार दर्ता हुन नसकेको नेकपा स्रोतले जनाएको छ । एक तिहाई सांसदले महाअभियोगका लागि हस्ताक्षर गरी प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ । एक तिहाई सांसदले मात्रै समर्थन जनाए पनि जोशी निलम्बित हुनेछन् । जोशीलाई राजीनामाका लागि दबाब दिन मात्र महाअभियोगको प्रक्रिया अघि बढाइएको कतिपय नेकपा नेताहरुको भनाइ छ ।
संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि जोशी विदामा बसेका थिए । मिश्र प्रधानन्यायाधीशमा नियुक्ति भएसँगै जोशी फेरि सर्वोच्च फर्किएका थिए । उनले न्यायसम्पादन पनि गर्दै आएका छन् ।

























