काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बेलका मनाइयो जितिया पर्व, तीस सेकेन्डकाे दूरीमा दुर्इ कार्यक्रम, मेयर नै अलमलिए

12.66K
shares

बेलका नगरपालिकाका थारु समुदायले जितिया पर्व मनाएका छन् । वडा नं. ९ सातपत्रेमा कार्यक्रमको आयोजना गरी थारु महिलाहरुले जितिया पर्व मनाएका हुन् । अघिल्लो वर्षजस्तै ‘जितिया सातपत्रे’ कार्यक्रम आयोजना गरियो । तर, यसपटक पर्वका अवसरमा स्थानीय थारु महिलाले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका थिए ।

स्थानीय शंकरवर्ती चौधरीको अध्यक्षतामा एउटा कार्यक्रम आयोजना गरिएको थियो भने त्यही नजिकै तपेश्वरी चौधरीको अध्यक्षतामा अर्को कार्यक्रम आयोजना गरिएको थियो । चाखलाग्दो विषय के थियो भने दुबै कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापालाई बोलाइएको थियो । केही वडाध्यक्षहरुले पनि दुबै कार्यक्रममा निम्ता पाएका थिए ।

एउटै गाउँमा दुईवटा कार्यक्रम आयोजना गरिए पछि प्रमुख अतिथिका रुपमा निम्ता पाएका नगर प्रमुख थापा, अतिथिका रुपमा बोलाइएका वडाध्यक्षलगायत अलमलिए । यद्यपि, समय मिलाएर उनीहरुले दुबै कार्यक्रममा सहभागिता जनाए । ‘३० सेकेन्डको फरकमा दुई वटा कार्यक्रम आयोजना गरिए पछि हामी नै अलमलियौँ,’ अतिथिका रुपमा बोलाइएका एक वडाध्यक्षले भने, ‘अर्को वर्षदेखि उहाँहरुले एक ढिक्का भएर जितिया पर्व मनाउनुहुन्छ भन्ने विश्वास छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले महिलाहरुलाई मिलेर अघि बढ्न सुझाव दिए । ‘तपाईंहरु मिलेर अघि बढ्नुभयो भने त्यसमा एउटा शक्ति झल्किन्छ,’ उनले भने, ‘अर्को वर्ष मिलेर कार्यक्रम गर्नुस् त्यसको प्रभाव तपाईंहरुले थाहा पाउनुहुनेछ ।’

वडा नम्बर ९ का वडाध्यक्ष मोहन घिमिरे, ४ का वडाध्यक्ष दीपक दंगाललगायतले उत्पादनशील कर्ममा मिलेर अघि बढ्न महिलाहरुलाई सुझाव दिए ।

तपेश्वरीको अध्यक्षतामा भएको कार्यक्रममा एक जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरिएको थियो । दुबै कार्यक्रममा महिलाहरुले नाचगान गरेर रमाइलो गरेका थिए ।