तनहुँ जलविद्युतको ठेक्का सम्झौतामा हस्ताक्षर
वि.सं.२०७५ असोज १६ मंगलवार २२:२८
shares

तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाटजडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि सारभूत रुपमा तथा न्यूनतम मूल्यांकित इटालियन कम्पनी सिएमसीसँग सम्झौता भएको हो ।
सम्झौता पत्रमा तनहुँ हाड्रोपावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले हस्ताक्षर गरेका छन् । सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता भएको हो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम सारभूत रुपमा तथा न्यूनतम मूल्यांकित चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ । सम्झौतापत्रमा तनहुँ हाड्रोपावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोका आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गरेका छन् । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक)मा खरिद सम्झौता भएको हो ।
दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रबन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयअगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गरे ।
तनहुँ हाइड्रोले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका पाँच कम्पनीमध्ये तीनवटाले र दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएका तीनवटा कम्पनीमध्ये दुईवटाले बोलपत्र पेस गरेका थिए । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मूल्यांकन भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावरबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहँुको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५ मा बन्ने श्रमिक आवासगृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसका लागि सम्बन्धित दातृनिकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेको तनहुँ हाइड्रोले जनाएको छ ।






















