ग्लोबल हेल्थ वाच पुस्तक विमोचन
वि.सं.२०७५ असोज ५ शुक्रवार १८:५६
shares

जनताको स्वास्थ्य अभियानले प्रकाशन गरेको स्वास्थ्यसम्वन्धि विश्व परिदृष्य (ग्लोबल हेल्थ वाच) पुस्तक नेपालमा पनि विमोचन भएको छ । बंगलादेशको ढाकामा हुन गइरहेको जनताको स्वास्थ्य भेलाको तयारी स्वरुप बिहिबार भएको राष्ट्रिय भेलामा सो पुस्तकको विमोचन गरेको होे ।
जनताको स्वास्थ्य अभियन्ता डा. शरदराज वन्तको नेतृत्वमा सो पुस्तक लोकार्पण गरिएको हो ।
विभिन्न देशका राज्यले दिने स्वास्थ्य प्रतिवेदनको वैकल्पिक रुपमा सो प्रतिवेदन जनस्तरबाट अध्ययन गरी प्रकाशन गरिएको डा.वन्तले बताए । विश्वका विभिन्न देशमा विमोचन गरिएको सो पुस्तक जनताको नजरबाट लेखिएको छ ।
विमोचन कार्यक्रममा विश्व स्वास्थ्य आन्दोलन बाहिरी झिलिमिलीले विचलन हुन सक्नेतर्फ इगिंत गर्दै अहिले सामाजिक खाडल बढेकोले आन्दोलनलाइ अझ चलायमान गर्नुपर्ने आवश्यकता रहेको प्रा.डा.मथुराप्रसाद श्रेष्ठको सन्देश सुनाइएको थियो ।
पुस्तक विमोचन नेपालको पहिलो जनस्वास्थ्य अभियन्ता प्रा.डा.श्रेष्ठले गर्ने भनिएता पनि उनको स्वास्थ्य अवस्थाका कारण अनुपस्थित भए पछि डा.वन्तलगायतले विमोचन गरेका थिए ।
कार्यक्रममा मानवअधिकारवादी गौरी प्रधानले सो पुस्तकको नीतिगत, संस्थागत र कार्ययोजनाबारे बताएका थिए । डा.सर्वराज खड्काले जनताको स्वास्थ्यको जिम्मा राज्यले नलिएको र बजारको भरमा छोडेको बताए ।






















