‘ख’ वर्गमा अब्बल बन्दै ज्योति विकास बैंक
वि.सं.२०७५ मंसिर २० बिहीवार २२:३२
shares

नेपाल राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पुँजी पुर्याइसकेको ज्योति विकास बैंक अर्को वित्तीय संस्थालाई अक्वाएर गरेर मुलुककै अब्बल विकास बैंक बन्दैछ । क्षेत्रीय स्तरको हाम्रो विकास बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेपछि चुक्ता पुँजीको हिसाबले ज्योति मुलुककै ठूलो विकास बैंक हुनेछ । ५३ करोड रुपैयाँ चुक्ता पुँजी भएको हाम्रो विकास बैंक २ अर्ब ५९ करोड रुपैयाँ भएको ज्योति विकास बैंकसँग गाभिएपछि चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । ज्योति विकास बैंकले यसअघि झिमु्रक विकास बैंकलाई मर्जर र राप्तिभेरी विकास बैंकसँग प्राप्ति प्रक्रिया सम्पन्न गरेको थियो ।
२५ अर्ब रुपैयाँ निक्षेप
ज्योति विकास बैंकले २३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने हाम्रो विकास बैंकको निक्षेप संकलन करिब २ अर्ब रुपैयाँ छ । मर्जरपछि निक्षेप संकलन २५ अर्ब रुपैयाँ पुग्ने ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले जानकारी दिए ।
२१ अर्ब कर्जा लगानी
२३ अर्बभन्दा बढी निक्षेप संकलन गरेको ज्योति विकास बैंकले १० हजारभन्दा बढी ऋणीमार्फत १९ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाम्रो विकास बैंकको कर्जा प्रवाह १ अर्ब ८० करोड रुपैयाँ छ । दुबै बैंक एक भएपछि कर्जा लगानी २१ अर्ब रुपैयाँ नाघ्नेछ ।
शाखा संख्या ९८ पुग्ने
ज्योति विकास बैंकका कुल ८० शाखा छन् भने हाम्रो विकास बैंकका ८ शाखा छन् । एक्विजिसनपछि कुल ८८ शाखा हुने र केही महिनाभित्रै १० शाखा थपिने ज्योति विकास बैंकका सीईओ ज्ञवालीले बताए । हाल १८ वटा एटीएम रहेको ज्योतिले मर्जरपछि थप २७ स्थानमा एटीएम सेवा सुरु गर्ने सीईओ ज्ञवालीले जानकारी दिए । एटीएम सेवालाई प्रभावकारी बनाउन अन्य योजनाहरु बनाइरहेको उनले बताए ।
‘एक हप्ताभित्रै एकीकृत कारोबारको अन्तिम स्वीकृति’
नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार एक हप्ताभित्रै ज्योति र हाम्रोलाई एकीकृत कारोबारको अन्तिम स्वीकृति दिने तयारी भएको छ । ‘मंसिर अन्तिमसम्ममा एकीकृत कारोबारको स्वीकृत प्रदान गरिनेछ,’ ती अधिकारीले भने ।
‘कर्मचारी र सेयर व्यवस्थापनमा समस्या छैन’
दुई बैंक एक भएपछि चुक्ता पुँजी वृद्धि भए पनि व्यवसाय थप विस्तार गर्ने विषयमा आफूहरु गहन छलफलमा लागेको सीईओ ज्ञवालीले बताए । ‘एक्विजिसनपछि हामी चुक्ता पुँजीको हिसाबले ठूलो बैंक बन्नेछौं,’ उनले भने, ‘अब बैंकको व्यावसायिक भोल्युम बढाउने विषयमा हामी योजना बनाउन थालेका छौं ।’
एकीकृत कारोबार सुरु भएपछि कर्मचारी, सेयर समायोजनलगायतका विषयमा विवाद नआउने उनले प्रस्ट पारे । ‘हामीले सबै निर्णय गरिसकेका छौं,’ उनले भने, ‘क्षमता, सीप र अनुभवअनुसार कर्मचारीको समायोजना हुनेछ भने हाम्रो विकास बैंकलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा गाभ्ने निर्णय भएकै कुरा हो ।’
यसअघि नै अन्य केही वित्तीय संस्था गाभिसकेकाले हाम्रोलाई अक्वाएर गरेपछि पनि सहज ढंगले व्यवस्थापन सम्हाल्न सकिने ज्ञवालीले बताए । एक्विजिसनपछि बन्ने ठूलो पुँजीको ज्योति विकास बैंकको सीईओ ज्ञवाली नै रहनेछन् ।
‘हामी उत्साहित छौं’
हाम्रो विकास बैंकका नायब महाप्रबन्धक रोशन थापाले मुलुकै अग्रणी संस्थालाई अघि बढाउने अवसर प्राप्त हुँदा आफूहरु उत्साहित भएको बताए । ‘हाम्रो विकास बैंक पनि क्षमतावान कर्मचारीले भरिएको बैंक हो,’ उनले भने, ‘अब अर्को सफल संस्थासँग मिल्ने भएपछि कामको प्रभाव र रफ्तार अझै बढ्ने विश्वास छ ।’ उनले आफूहरु बराबर हैसियतमा मिल्न लागेको बताए । ‘हामी बराबरी हैसियतमा एक हुँदैछौं, त्यसैले पनि सबै उत्साहित छौँ,’ थापाले भने ।
चुक्ता पुँजीमा मुक्तिनाथसँग प्रतिस्पर्धा
विकास बैंकमध्ये अहिले सबैभन्दा बढी चुक्ता पुँजी भएको विकास बैंक मुक्तिनाथ हो । यो बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ छ । मुक्तिनाथले गत वर्षको नाफाबाट १८.२५ प्रतिशत लाभांश वितरणपछि चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैयाँ पुर्याउँदै छ । लाभांश पारित गर्न यो बैंकले मंसिर २९ गते पोखरास्थित सिटी स्क्वायरमा १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा बोनसपछि कायम हुने ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पेस हुँदैछ । हकप्रदपश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
यता, ३ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएपछि ज्योति विकास बैंकले बोनस वितरण गरे चुक्ता पुँजीको हिसाबले दुई बैंक निकट हुनेछन् । बढी चुक्ता पुँजी हुने महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ छ ।
























