बुटवल-बेलहिया सडक : बन्दैछ, भत्किँदैछ
वि.सं.२०७५ मंसिर २१ शुक्रवार १६:२३
shares

बुटवलदेखि भारतीय सीमा नाका बेलहियासम्म ६ लेनको सडक बन्दैछ । एकातर्फ सडक बन्दै छ भने अर्कातर्फ भत्किँदै गएको छ । २४ किलोमिटर सडकखण्डमध्ये अहिले केही खण्ड निर्माण पूरा भर्इ व्यापारिक मार्ग विस्तार आयोजना बुटवल वेलहियालाई हस्तान्तरण गरिएको छ ।
यसरी हस्तान्तरण गरिएको सडकका केही स्थानमा डिभाइडर फुटेका छन् भने कतै सडक छेउमा लगाएका फलामका रेलिङ भाँचिएका छन् । विभिन्न समयमा हुने दुर्घटनाका कारण यसरी भत्किएका सडक डिभाइडर र भाँचिएका सडकका रेलिङ बनाउने जिम्मेवार निकाय नहुँदा थप दुर्घटना जोखिम बढेको छ ।
बुटवल योगकुटीदेखि नयाँमिल सडकखण्डमा यसको उदहरण अहिले पनि देख्न सकिन्छ । सवारी दुर्घटनाबाट भत्किएका सडक र भाँचिएका रेलिङ निर्माणको जिम्मा स्वयं दुर्घटना गराउने सवारी साधन धनी हुने नियम छ ।
बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका इन्जिनियर योगेन्द्रबहादुर अधिकारी पनि सडक जसले भत्काउँछ उसैले बनाउनुपर्ने बताउँछन् । तर, लामो समयसम्म भत्किएको सडक डिभाइडर र रेलिङ मर्मतसम्भारमा कसैले ठोस चासो देखाइएको पाइँदैन । ‘जसले दुर्घटना गराउँछ, त्यही व्याक्ति नै स्वयं सडक मर्मतको जिम्मेवार निकाय हो,’ इन्जिनियर अधिकारी भन्छन्, ‘हामीले पटक-पटक ताकेता गर्दा पनि कतिपय समयमा दुर्घटना गराउने व्क्ति र साधन नै पत्ता नलाग्दा समस्या भएको छ ।’
उनले स-सानो क्षेत्रमा मर्मतसम्भार गर्दा पनि ठेकेदारमार्फत गराउनुपर्ने तर ठेकेदारहरु स-सानो काममा नलाग्ने भएकाले पनि समस्या थपिएको उनको भनाइ छ । ‘हामीलार्इ स-सानो काम गर्ने ठेकेदार नै पाउन समस्या छ,’ उनी भन्छन्, ‘केही मात्रामा बिग्रेको सडक मर्मतसम्भार गर्न ठेकेदारले नै चासो देखाउँदैनन्, जसका कारण थप समस्या भएको हो ।’
ठाउँ-ठाउँमा भत्किएको सडक मर्मतका लागि प्रहरी प्रशासनमार्फत सम्बन्धित व्यक्तिलाई खबर गरेर केही स्थानमा सडक मर्मत गर्ने गरेको जानकारी दिँदै इन्जिनयर अधिकारीले कोटेसन मगाएर काम गर्दा ठेकेदर नै पाउन मुस्किल भएको बताए । जुन गाडीले सडकमा क्षति पुर्याएको छ, सोही गाडी नै मर्मतसम्भारको जिम्मेवार निकाय भएको उनको भनाइ छ ।
गत वर्ष बुटवल-वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले करिब एक सयदेखि एक सय ५० मिटरसम्म रेलिङ मर्मत गरेको तथ्यांक छ ।
ओभरलोडले समस्या
अहिले बुटवलदेखि भारतीय सीमा नाका बेलहियासम्म पुग्ने सडकको क्षमता १०.२ पर एक्सल हो । तर, अहिले १० चक्के गाडीले ५० टनसम्म सामान ल्याउने गरेकाले बाटो छिटो भत्किने गरेको छ । सीमा क्षेत्रसँग जोडिएका कारण व्यवसायीले ओभरलोडको चिट काटेर सडक नै बिगार्ने गरी २५ टन क्षमतामा ५० टनसम्म दोब्बर नै सामान ल्याउने गरेको पाइएको व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ ।
निर्माणाधीन बुटवल बेलहिया ६ लेन सडक ठेकेदारलाई कारबाही गरेर भए पनि बुटवल-बेलहिया सडक व्यापारिक मार्ग विस्तार आयोजना रुपन्देहीले चैतभित्र काम सक्ने योजना बनाएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजनाले बेलहिया-बुटवल सडक, मणिग्राम, रुपन्देही सिद्धार्थ राजमार्गको सुरु विन्दु बेलहियादेखि बुटवल चौराहासम्मको २४ किमी सडकखण्डलाई ६ लेनमा निर्माण गर्ने गरी २०६९ असारमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो ।
आयोजनाको कार्यक्षेत्र २४ किमी भएकोमा २०७२ चैत १७ गतेको विभागीय निर्णयअनुसार यस आयोजनाको कार्यक्षेत्र बुटवलको चौराहादेखि गोलपार्क चिडियाखोलासम्म ३.५ किमी थप भई २७.५० किमी कायम भएको छ ।
जसमध्ये १८ किमी सडक कालोपत्रे भइसकेको छ भने ५.२५ किमी सडक २०७५ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । एकातर्फ बनेको सडक भत्किसक्यो अर्कातर्फ सडक धुलाम्य छ । अयोजनाको सम्पन्न मिति थप्दै आएको कार्यालयले अन्तिम पटक २०७५ चैतसम्म सडक निर्माण सक्ने दाबी गरेको छ ।

























