बैंकर्ससँग किन रिसाए गभर्नर ?
वि.सं.२०७५ मंसिर २१ शुक्रवार १६:४३
shares

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ३२औं वार्षिक साधारणसभाका निर्णय सार्वजनिक गर्न काठमाडौंको होटल अन्नपूर्णमा बिहीबार साँझ विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा अर्थमन्त्री डा. युवराज खतिवडा र विशेष अतिथिका रुपमा गभर्नर डा. चिरञ्जीवी नेपाल निम्त्याइएका थिए ।
सामान्यतः बैंकर्सका कार्यक्रमहरु निर्धारित समयमै सुरु हुन्छन् । तर, अर्थमन्त्रीले आउन ढिला गरेपछि साँझ ६ बजे सुरु हुने भनिएको कार्यक्रम साढे ६ बजे सुरु भयो । निक्षेपको ब्याजलाई लिएर तीव्र प्रतिस्पर्धा गरिरहेका बैंकर्स अर्थमन्त्री र गभर्नर दुवैजना ‘कोकटेल डिनर’सहितको कार्यक्रममा सहभागी भएपछि दंग देखिन्थे । तर, कार्यक्रममा जब गभर्नरले माइक समाते बैंकर्स हैरान देखिए । गभर्नर भूमिका नबाँधी फटाफट बैंकर्सको आलोचना गर्न थाले ।
गभर्नरले कार्यक्रममा करिब ५ मिनेट बोलेका थिए–
मलाई यो सभामा बोलाएर तपाईंहरुले ठिकै गर्नुभयो, केही भन्नु थियो यसलाई मैले अवसर बनाएँ । ब्याजदरलाई लिएर वाणिज्य बैंकहरु फेरि मनपरी गरिरहेका छन् । मैले पटक-पटक भन्ने गरेको छु, बैंकहरु व्यापार गर्ने संस्था होइनन् । तपाईंहरुलाई व्यापार गर्न मन लागेको भए व्यवसाय खोल्नुस्, बैंक छाड्नुस् । होइन भने बैंक तथा वित्तीय संस्थालाई नाफाका पछाडि मात्रै दौडाउने काम बन्द गर्नुस् ।
तपाईंहरुले व्यापार नै गर्न खोज्दै हुनुहुन्छ भने यो नभुल्नुस् कि देशमा नियामक निकाय पनि छ । नियामक निकायले तपाईंहरुले मनपरी गर्दा टुलुटुलु हेरेर बस्दैन । बैंकिङ क्षेत्र भनेको निकै अनुशासित क्षेत्र हो । तर, तपाईंहरुलाई यसरी ठाडै यसो गर्नुस् र त्यसो गर्नुस् भन्नुपर्दा म आफैं अचम्मित छु । मुलुकको अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै हामीले कतिपय निर्देशन जारी गर्छौं, त्यसमा तपाईंहरुले सहयोग गर्नुपर्छ । तर, कतिपय अवस्थामा तपाईंहरु त्यस्ता निर्देशन नै नमान्ने, आफ्नै पाराले चल्न खोज्ने गर्नुहुन्छ । तपाईंहरुको यही प्रवृत्तिलाई फस्टाउन नदिन कहिले काहिँ कार्बाहीसमेत गर्नुपरेको छ ।
निक्षेपको व्याज अस्वाभाविक रुपमा वृद्धि गरिएको छ । व्याजदरमा प्रतिस्पर्धा गरेर तपाईंहरुले गलत गरिरहनुभएको छ । राष्ट्र बैंकलाई जिस्काउनुभएको हो ? जसले बढी ब्याज दिएर निक्षेप लिएको छ, उसले बैंकलाई जोखिममा चलाएको हुन्छ । उसले पब्लिकको पैसा दुरुपयोग गर्न खोजेको मानिन्छ ।
बैंक भनेका पब्लिक संस्था हुन् । निजीजस्तो गरी जनताको पैसा दुरुपयोग गर्ने अधिकार बैंक तथा वित्तीय संस्थालाई छँदै छैन । तपाईंहरुलाई बैंक निजी हुन् जस्तो लाग्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंहरु जनता र सरकारसँग उत्तरदायी नियामकको मातहत हुनुहुन्छ भन्ने कुरा नभुल्नुस् ।
ब्याजदरमा जुन खालको अस्वस्थ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, त्यसलाई राष्ट्र बैंकले नियालिरहेको छ र आवश्यक कदम पनि चाल्नेवाला छ । तपाईंहरुले आश्चर्य नमाने हुन्छ, राष्ट्र बैंकले तुरुन्तै एक्सन लिन्छ । म योभन्दा बढी बोल्दिनँ । सीईओसाबहरु हुनुहुन्छ, कुरा बुझिसक्नुभयो होला, म के भन्न खोजिरहेको छु ।

























