काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

1.37K
shares

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे ।

नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए । उनले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

बैंकको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री वाग्लेले बताए । आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गर्दै स्थापना भएको यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

उनका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड, निक्षेप चार खर्ब १६ अर्ब र कर्जा दुई खर्ब ६२ अर्ब रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात चार दशमलव १८ प्रतिशत, ग्राहक सङ्ख्या २९ लाख २४ हजार र कर्मचारी सङ्ख्या तीन हजार ६०० रहेको छ ।

त्यसैगरी, बैंकका २५० वटा एटिएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङका ग्राहक सङ्ख्या १० लाख पुगेको छ । बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए ।