काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चौध महत्वपूर्ण निर्णय गर्दै एनआरएनए एसिया प्रशान्त क्षेत्रीय बैठक सम्पन्न

12.77K
shares

गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेला सम्पन्न भएको छ । ‘समृद्ध नेपालका लागि लगानी र रोजगार : दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने मूल नाराका साथ डिसेम्बर ८ र ९ मा हङकङमा भएको बैठक महत्वपूर्ण १४ निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालका साथै १८ देशका तीन सय प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो । बैठकले विभिन्न क्षेत्रमा लगानी, कृषि क्षेत्रमा आधुनिकीकरणलगायतका महत्वपूर्ण निर्णय गरेको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता भूषण घिमिरेले जानकारी गराएका छन् ।

निर्णयहरु
१. गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मझाैला लगानीलाई प्रोत्साहन गरी भावानात्मक र व्यावसायिक रुपमा प्रवर्धन गर्न र कानुनी सरलता र सहजीकरणका लागि सरकारलाई अनुरोध ।

२. वैदेशिक रोजगारीबाट विभिन्न ज्ञान, सीप र प्रविधि सिकेर फर्किएका नेपालीलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिमा सहयोग गर्न २० करोडको पुँजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोल्ने ।

३. म्याग्दीको कुइने मंगले गाउँपालिकाअन्तर्गत पर्ने ठूलो खोलामा ३५४ मिटर हेड भएको मध्यमस्तरको जलविद्युत आयोजना सम्पन्न गर्न नेपालभित्र र गैरआवासीय नेपालीको संयुक्त पहलमा ऊर्जा कम्पनी खडा भइसकेको छ । आर्थिक रुपमा अत्यन्त आकर्षित सो आयोजनामा संसारभरका गैरआवासीय नेपालीलाई संयुक्त लगानीमा साझेदारी गर्न आह्वान ।

४. सरकारसँगको सहकार्यमा १०० मिलियन डलरको म्युचुअल इन्भेस्मेन्ट भेइकल खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने ।

५. नेपालको ऐतिहासिक महत्व राख्ने सिन्धुलिगढी परियोजनाका लागि केन्द्र र स्थानीय सरकारसँग पहल गरी साझेदारी मोडेलमा विकास गर्न पहल गर्ने ।

६. नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग सहकार्य गरी विश्वका २० विकसित देशसँग आर्थिक विकास सम्झौता, द्वैध कर निषेध सम्झौता र बिप्पा सम्झौता गराउन पहल गर्ने ।

७. गैरआवासीय नेपाली संघको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउन्डेसनमार्पmत देशमा एक करोड पुराना चिमबत्तीलाई आधुनिक एलईडीमा परिवर्तन गरी ३०० मेगावाट किफायत गराउने परियोजनालाई अगाडि बढाउने ।

८. ६० प्रतिशत नेपाली संलग्न भई देशको ३५ प्रतिशत जीडीपी धानिरहेको कृषिक्षेत्रलाई आधुनिक कृषिमा परिवर्तन गर्न विदेशमा सिकेको कृषिसम्बन्धी सीपलाई नेपालमा भित्र्याई आधुनिक कृषिक्षेत्रका परियोजना अगाडि बढाउने ।

९. संविधानको धारा २९१ ले कुनै देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौति गरेको छ । हङकङलगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकाले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकोले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र संघीय संसदलाई अनुरोध ।

१०. गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउन संविधानमा व्यवस्था भएकोलाई यो बैठक स्वागत गर्दै अब बन्ने कानुन र ऐनमा नेपाली नागरिकसरहको अधिकार सुनिश्चित गर्न आग्रह ।

११. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलालाई लगानीका क्षेत्रमा अघि बढाउने, महिला फोरमको सक्रियतामा गत वर्षबाट सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय समन्वय परिषद्मा यथासम्भव महिला सहभागिता सुनिश्चित गराउने ।

१२. एसिया प्रशान्त क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मूलधारमा समाहित गर्दै देशको सर्वांगीण विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायलाई अनुरोध गर्ने । विदेशमा नेपाली पाठ्यक्रमअनुसार सञ्चालित विद्यालयलाई मान्यता दिई परीक्षा प्रणालीलगायतका सहजीकरणका काम सरल रुपमा गर्न र दूतावासमार्फत निरीक्षणको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गर्दै बालबालिकालाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्य गर्न अपिल ।

१३. वैदेशिक रोजगारीमा गई विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्धार तथा सहयोगका लागि भइरहेका कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने ।

१४. भूतपूर्व गोरखा सैनिकको जायज मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्न सरकारसँग अनुरोध ।