सेयरधनीको भोट किनबेच र कम्पनी सञ्चालकको अनलाइन चुनाव
वि.सं.२०७५ मंसिर २४ सोमवार १२:३०
shares

‘मेरो पनि भोट हालिदिनुहोस् है !’
सेयर तालिममा सहभागी दुर्इ जनाबीच गफ चलिरहेको थियो । यो गफ सुनेर बाँकी सहभागी अचम्म मानेर उनीहरूको अनुहारतर्फ केहीबेर एकोहोरिए ।
सोही समयमा एक सहभागीले प्रश्न सोध्न भ्याइहाले– ‘ए सर ! यो कस्तो चुनाव हो, जहाँ अर्कैले भोट हालिदिन पाउने ?’
जिज्ञासा मेटाउने यो ठाउँमा उनले थपे– ‘यतिका चुनावमा भाग लिइयो तर सबैमा आफैंले भोट हालियो । अरुले भोट हालिदिन पाउने चुनाव पनि हुन्छ ?’
‘हुन्छ ।’
कम्पनी सञ्चालन गर्नका लागि चुनिने सेयरधनीका प्रतिनिधि (अर्थात् सञ्चालक)को चुनावमा सेयरधनी आफैं उपस्थित भएर भोट नहाले पनि आफ्नो प्रतिनिधिमार्फत भोट हाल्न पाउने अधिकार हुन्छ ।
उदारहणका लागि तपार्इंसँग कुनै कम्पनीको सेयर छ तर सञ्चालकको चुनावमा आफैं उपस्थित भएर भोट दिन सक्नुहुन्न भने कसैलाई प्रतिनिधि तोक्न सक्नुहुन्छ, जसले तपार्इंको पनि भोट हालिदिन्छ ।
यसरी तोकिएको प्रतिनिधिलाई अंग्रेजीमा प्रोक्सी भनिन्छ । प्रतिनिधि तोक्दा प्रोक्सी फर्म भर्नुपर्ने हुन्छ, जसमा तपार्इंले गरेको दस्तखत कम्पनीमा भएको वा डिम्याट खाता खोल्दा गरेको दस्तखतसँग मेल खानुपर्छ । यदि नमिलेमा प्रोक्सी रद्ध हुन्छ भने नियुक्त गरेको प्रतिनिधिले तपार्इंको भोट हाल्न सक्दैन ।
सेयरधनीले आफ्नो प्रतिनिधिमार्फत साधारण सभामा सहभागी हुन तथा सञ्चालक चुन्नका लागि भोट दिन पाउने विश्वव्यापी अभ्यास छ । यसरी तोकिने प्रतिनिधि कम्पनीको सेयरधनी नै हुनुपर्ने वा नभए पनि हुने भन्ने सम्बन्धित कानुन वा कतिपय अवस्थामा कम्पनीअनुसार फरक पनि हुनसक्छ ।
कम्तीमा चार वर्ष अवधिका लागि हुने सञ्चालकको चुनाव अन्य चुनावभन्दा अलिक फरक हुन्छ । यहाँ एक व्यक्ति एक भोट नभर्इ एक सेयर एक भोट हुन्छ । दश कित्ता हुनेले दश भोट, दश हजार कित्ता हुनेले दश हजार भोट दिन पाउँछ । सञ्चालकको उम्मेदवार बन्न कम्पनीले नतोकेमा कम्तीमा १०० कित्ता सेयर हुनुपर्छ ।
जिज्ञासाकै क्रममा अर्का सहभागीले प्रश्न तेर्स्याए– ‘यसरी तोकिएको प्रतिनिधिले हामीले चाहेको व्यक्तिलार्इ नै भोट दिन्छ वा हाम्रो भोट सही सदुपयोग हुन्छ भन्ने के ग्यारेन्टी छ ?’
यो एउटा गम्भीर विषय थियो, जसका बारेमा सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्ड लामो समयदेखि रमिते बनेर रमाइलो गरिरहेको छ । सञ्चालकको चुनावभित्रको अपराध वा विकृति देखेको-नदेखै गरिरहेको छ ।
प्रतिनिधिमार्फत हाल्न लगाइएका भोट गलत व्यक्तिलार्इ गएका र गलत तरिकाले प्रयोग हुने गरेका छन् । प्रोक्सी संकलन गर्नेहरु प्रायः सञ्चालकको उम्मेदवार बन्न आकांक्षा राख्नेहरु नै हुन्छन् । कतिपयले धेरै सेयरधनीको प्रतिनिधि बनेर संकलित प्रोक्सी बिक्री गर्ने गरेका पनि हुन्छन् ।
उदाहरणका लागि दुर्इ जना सञ्चालक चुनिने ठाउँमा तीन जना प्रतिस्पर्धामा देखिए । सञ्चालकको चयन निर्विरोध गराउने बहानामा कुनै एक उम्मेदवारले अर्कोबाट मोटो रकम लिएर आफ्नो उम्मेदवारी फिर्ता लिने वा दुर्इ जना चाहिनेमा चार जना उम्मेदवार देखिए भने कुनै एकले अर्कोसँग भएको प्रोक्सी किन्ने वा प्रोक्सी देखाएर पैसाको बार्गेनिङ गर्ने गरेर अर्को कुनैलाई हराउने गरिन्छ । यसरी प्रोक्सी खरिद बिक्री गर्ने र गलत तरिकाले फाइदा उठाउने सामान्य जस्तै बनेको छ ।
सञ्चालकको चुनावमा तर यो कुरा सर्वसाधारण लगानीकर्ताको कमै चासोको विषय बन्ने गर्छ, जुन उनीहरुको लगानीमा हुने जोखिमको ठूलो हिस्सा हो । बजारलाई बढी पारदर्शी, विश्वासनीय र सही व्यक्ति कम्पनीको सञ्चालकमा पुर्याउनका लागि नयाँ तरिकाबाट सोच्न ढिला भइसकेको छ ।
यसैगरी, सञ्चालकको चुनावमा अर्को अपराधीकरण दस्तखत रुजुमा हुने गर्छ ।
सेयरधनीबाट संकलित प्रोक्सी कम्पनीले तोकेको समयमा दर्ता गरी दस्तखत रुजुमार्फत त्यसको वैधानिकता परीक्षण गरिन्छ । जुन काम कम्पनीले तोकेको सेयर रजिस्ट्रारले गर्ने गर्छ । दस्तखत रुजु, लाभांश वितरण वा कम्पनीको सेयरसम्बन्धी सम्पूर्ण काम गर्न तोकेको संस्था वा विभागलाई सेयर रजिस्ट्रार भनिन्छ । सेयर रजिस्ट्रारको काम कतिपय कम्पनी आफैंले गर्छन् भने कतिपयले मर्चेन्ट बैंकलाई दिने गरेका छन् ।
सञ्चालकको चुनावमा सेयर रजिस्ट्रार विकृतिको अर्को नमुना हो । सेयर रजिस्ट्रारले कम्पनीको संस्थापक समूहबाट बढी परिचालित वा प्रभावित भर्इ उनीहरुको स्वार्थमा बढी काम गर्ने गर्छ । जसका कारण स्वार्थ समूहको प्रतिनिधिको प्रोक्सी सजिलै स्वीकृत गर्ने र सञ्चालकका अन्य प्रतिनिधिका प्रोक्सी दस्तखत नमिलेको बहानामा अस्वीकृत गर्ने गरेका उदाहरण प्रशस्तै भेटिन्छन् । परिणामतः कम्पनीको संस्थापक समूहले चाहेको व्यक्तिबाहेक अन्य व्यक्ति सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा जाने सम्भावना कमै हुने गर्छ ।
यस्तै, सेयर रजिस्ट्रारको अर्को बदमासी सेयरधनीको दस्तखत किर्ते गरेर चाहेको व्यक्तिलाई जिताउन नक्कली प्रोक्सी तयार गर्ने र त्यसैको बलमा आफ्ना नातेदार वा चाहेको व्यक्तिलाई कम्पनीको सञ्चालकमा पुर्याउन अनैतिक प्रयास गर्नु पनि हो ।
कागजी प्रोक्सी संकलन र त्यसको दुरुपयोग (जस्तो सर्वसाधारण सेयरधनीको मताधिकारको खारिद-बिक्रीलाई) रोक्न अन्य नियामक निकाय जस्तैः नेपाल राष्ट्र बैंक तथा बिमा समितिको पनि सहयोग लिएर धितोपत्र बोर्डले तत्काल कानुनी कारबाही अगाडि बढाउनुपर्छ । त्यसका लागि अहिलेको कागजी चुनाव प्रणालीबाट विद्युतीय माध्यममा रुपान्तरण हुनुपर्छ । यसको सबैभन्दा उपयुक्त माध्यम भनेको भइरहेको प्रविधि डिम्याट खाता वा मेरो सेयरलाई उपयोग गर्नु हो ।
सेयरधनीले ‘मेरो सेयर लगइन’ गरेर चाहेको व्यक्तिलाई अनलाइन भोट दिन पाउने व्यवस्था गर्नुपर्छ । यसो गरिएमा प्रोक्सी संकलन गरी खरिद बिक्री गर्ने कामको अन्त्य हुन्छ र लगानीकर्ताले आफ्नो मताधिकार आफैं प्रयोग गर्न पाउँछन् । साथै, दस्तखत नमिलेको बहाना बनाएर नचाहेको उम्मेदवारको सही प्रोक्सी रद्ध गरिदिएर सेयर रजिस्ट्रारले आफ्नो मान्छे वा संस्थापक समूहको मान्छेलाई सञ्चालकमा लाने अवस्थाको पनि अन्त्य हुनेछ ।
विद्युतीय वा अनलाइन भोटिङको अर्को फाइदा विश्वभर छरिएर रहेका सेयरधनीले प्रतिनिधि चयन (सञ्चालक चुनावमा) तथा कम्पनीका महत्वपूर्ण निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गर्छन् । विद्युतीय माध्यम वा अनलाइनमार्फत चुनाव गर्दा सिडिएस कम्पनीलाई तिरेको सानो शुल्कका कारण कम्पनीले चुनावका लागि व्यहोर्दै आएको लाखौं खर्च पनि वचत हुन जान्छ । तर, यसरी गरिने विद्युतीय भोटिङको विश्वसनीयता कायम गर्न अनलाइन भोटिङ सञ्चालन गर्ने अधिकार कम्पनीलार्इ नदिर्इ सिडिएसले नै राख्नुपर्छ ।
(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टरार्इले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

























