माछापुच्छ्रे बैंक, यूकेएड सक्षम र हेफर इन्टरनेसनलबीच सम्झौता
वि.सं.२०७५ मंसिर २५ मंगलवार २१:०३
shares

माछापुच्छ्रे बैंक, यूकेएड सक्षम र हेफर इन्टरनेसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवासम्बन्धी सम्झौता भएको छ । ग्रामीण क्षेत्रका महिला उद्यमी तथा कृषकको जीवनस्तरमा आर्थिक सुधारको लागि सरलीकृत लघुकर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा, यूकेएड सक्षमका टिम लिडर निर्मल दाहाल र हेफरका नेपाल निर्देशक शुभनारायण महतोले हस्ताक्षर गरका छन् । कार्यक्रममा बैंकका सीईओ शर्माले यो सहकार्यले १४ जिल्लाका महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिनाधितो कर्जा प्रदान गर्न सहज हुने बताए ।
बैंकले ४३ सय कृषक एवं महिला उद्यमीमा ऋण प्रवाह गर्ने, तीन हजारको बैंक खाता खोल्ने, विभिन्न जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, शाखारहित सेवा केन्द्र विस्तार गर्ने तथा नेपालमै पहिलोपटक नौलो कर्जा सेवा ‘किसान क्रेडिट कार्ड’ प्रदान गर्ने उद्देश्य राखेको उनले जानकारी दिए । माछापुच्छ्रे बैंकका ८६ शाखा, दुईवटा एक्सटेन्सन काउन्टर, ३९ शाखारहित बैंकिङ काउन्टर र १०५ एटिएमबाट सेवा प्रदान गरिरहेका छ ।
सक्षम यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो भने हेफर इन्टरनेसनल साना किसानको दिगो विकासमा अग्रणी भूमिका खेल्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।

























