काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आरक्षित वर्गले पाउँदैनन् सार्वजनिक यातायातमा सिट र छुट सुविधा

19.01K
shares

सार्वजनिक यातायातमा यात्रा गर्दा महिला, अपांगता भएका तथा ज्येष्ठ नागरिकलाई छुट्याइएको आरक्षण सिट कार्यान्वयन नहुने गरेको पाइएको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट छुट्ने अधिकांश बसले आरक्षित सिटमा तोकिएको वर्गलाई नबसाई अन्य यात्रुलाई बसाउने गरेको पाइएको हो ।

सार्वजनिक यातायात आचारसंहिता २०६७ अनुसार महिला, शारीरिक अपांगता तथा अशक्त व्यक्तिलाई आरक्षण सिट दिनुपर्ने हुन्छ । त्यस्तै, सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि २०७० अनुसार ज्येष्ठ नागरिकलाई दुईवटा आरक्षण सिट सुरक्षित गरी आरक्षण सिटमा बस्ने दुई जनालाई कम्तीमा ५० प्रतिशत छुट सुविधा दिनुपर्ने व्यवस्था छ । तर, कतिपय यातायातहरुले आरक्षण सिट नै छुट्याएका छैनन् भने कतिपयले आरक्षण सिट भनेर छुट्याए पनि तोकिएको वर्गलाई आरक्षण सिटमा नबसाई अन्य यात्रुलाई नै बसाएर यात्रा गराउने गरेका छन् ।

चौध सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातमा महिला, शारीरिक अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई आरक्षणको व्यवस्था भए पनि कतिपय सवारीले सो कुरा जानकारी नगराई अन्यलाई बसाउने गरेको यात्रुहरुले बताएका छन् । बसमा यात्रा गरिरहेकी मोरङ विराटचोककी रमा निरौलाले लक्षित वर्गका लागि छुट्याइएको आरक्षण सिट र भाडा छुट कार्यान्वयन नहुने गरेको गुनासो गरिन् ।

public-vehicle-newskarobar2

उनले भनिन्, ‘पहिले मलाई बसमा सिट आरक्षण हुन्छ भन्ने थाहा थिएन । सार्वजनिक यातायातमा महिला, अपांग तथा जेष्ठ नागरिक छुट लेखिएको त हुन्थ्यो तर त्यो केका लागि हो थाहा थिएन । तर, थाहा पाएपछि आरक्षण सिटका विषयमा यातायात कर्मचारीसँग कुरा गर्दा वास्ता गर्दैनन् । अपांग, महिला, जेष्ठ नागरिक सिट भनेर लेखिएको हुन्छ तर अरु नै त्यो सिटमा बसेका हुन्छन् । यो कुरा सार्वजनिक यातायातमा काम गर्नेलाई भन्यो भने उल्टै बाझ्छन् ।’

सार्वजनिक यातायातमै यात्रा गरिरहेका तेह्रथुमका जेष्ठ नागरिक लालबहादुर घतानीले सार्वजनिक यातायातले आरक्षण सिट दिन त परै जाओस् जेष्ठ नागरिक परिचयपत्र देखाउँदासमेत छुट नदिने गरेको गुनासो गरे । उनले भने, ‘हामीलाई गाडीमा हिँड्दा सरकारले छुट सुविधा दिएको छ । जेष्ठ नागरिकलाई आरक्षण सिटको समेत व्यवस्था हुनुपर्ने हो तर हामीलाई सिट दिन त कता हो कता जेष्ठ नागरिक परिचय पत्र देखाउँदा छुटसमेत दिँदैनन् ।’

सार्वजनिक यातायातका चालक र सहचालकले भने सरकारले तोकेअनुसार आरक्षण सिट र छुट सुविधा दिने गरेको दाबी गरेका छन् । उनीहरुले लक्षित वर्गले नै आरक्षित सिट र छुट सुविधा नलिने गरेको दाबी गरे । सार्वजनिक यातायातका सहचालक मणि भण्डारीले भने, ‘हेर्नुस् ! हाम्रो गाडीमा महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सिट तोकिएको छ । लेखेरै राखिदिएको छ । अब त्यो सिटमा बस्दैनन्, पाउने छुट लिँदैनन् भने हामीले के गर्ने ?’

public-vehicle-newskarobar2

सिट र छुटबारे जानकारी गराउने भने आफूहरुलाई फुर्सद नहुने उनले बताए । सरकारबाट पाउने सेवा सुविधा लिए पनि तोकिएको व्यवस्थालाई सार्वजनिक यातायातका चालक तथा सहचालकले विभिन्न बहानामा टार्ने गरेका छन् । महिला, अपांगता भएका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा यात्रा गर्दा अभद्र व्यवहार हुने गरेको गुनासो आएपछि ती वर्गलाई आरक्षण सुविधा दिइएको हो । तर, सार्वजनिक यातायातले यसको पालना गर्नु त परै जाओस् यात्रुलाई टिकट नदिने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता कार्य गरेर अरु नियमको पनि उल्लंघन गर्ने गरेका छन् ।

सार्वजनिक सवारी साधनमा तोकिएको वर्गलाई आरक्षण सिट अनिवार्य गरिएको र अनुगमनका क्रममा भेटिएका आरक्षण सिटको दुरुपयोग गर्ने सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलले बताए । तोकिएको वर्गले आरक्षण सिट नपाएको भेटिए पनि अहिले सबै सार्वजनिक यातायातले आरक्षण सिटसम्बन्धी व्यवस्थाकोे पूर्ण रुपले कार्यान्वयन गरेको उनको दाबी छ । उनले भने, ‘यो कुरामा हामीले अनुगमन गरिरहेका छौँ । हामीले सबै चालक र सहचालकलाई यो विषयमा खबरदारी गरिरहेका छौँ । अनुगमनका क्रममा कसैले नियम कानुनको पालना नगरेको भेटिए प्रचलित कानुनअनुसार कारबाही र जरिवाना गरिरहेका छौँ ।’

सार्वजनिक यातायातका चालक तथा परिचालकको मनलाग्दी र अनुगमन गरी कार्यान्वयनका लागि दबाब दिने निकायरु मौन बस्दा महिला, अपांगता भएका तथा ज्येष्ठ नागरिकहरु तोकिएका आरक्षण सेवाबाट वञ्चित भएका छन् । जसले गर्दा सार्वजनिक सवारीको प्रयोग गर्दा उनीहरुले थप समस्या झेलिरहनुपरेको छ ।