राजपा निकट विद्यार्थीले क्याम्पस प्रमुखलाई कालोमोसो दले
वि.सं.२०७५ पुस १ आइतवार २०:१९
shares

जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)का क्याम्पस प्रमुखलाई राष्ट्रिय जनता पार्टी निकट विद्यार्थी संगठनले कालोमोसो दलेको छ । आइतबार राजपा निकट राष्ट्रिय विद्यार्थी संघले क्याम्पसको अवस्था नाजुक बनाएको र क्याम्पसमा शैक्षिक सुधारको वातावरण नबनाएको भन्दै कालोमोसो दलेको हो ।
महीनौंदेखि चेतावनीको साथै आन्दोलन गर्दै आएका विद्यार्थीहरुले क्याम्पस प्रमुख विजयकुमार लाभलाई उनकै कार्यकक्षमा कालोमोसो दलेका हुन् । साथै कार्यकक्षमा तालाबन्दी गर्दै उनलाई भित्रै थुनेका छन् ।
आइतबार दिउँसो डेढ बजे क्याम्पस प्रमुख लाभसँग विद्यार्थीहरुले क्याम्पसको खस्किँदो शैक्षिक अवस्था सुधार गर्न आग्रह गरिरहेको बेलामा प्रमुख लाभले उल्टै धम्काउँदै पढ्ने भए पढ नत्र अर्को क्याम्पसमा टिसी लिएर जानु भनेपछि उनलाई कालोमोसो दलिएको एक आक्रोशित विद्यार्थीले बताए ।
उक्त समूहले लाभलाई कालोमोसो दल्नुका साथै उनको कार्यकक्षमा तालाबन्दी गर्दै थुनेको राजपा निकट राष्ट्रिय बिधार्थी संघका सदस्य कुलदीप साहले बताए । यता, क्याम्पसका सहायक प्रमुख रामनरेश ठाकुरका अनुसार राजपा निकट राष्ट्रिय विद्यार्थी संघका विद्यार्थीहरुले क्याम्पसमा पठन पाठनका सम्बन्धमा कुराकानी भइरहेकै समयमा क्याम्पस प्रमुखमाथि कालोमोसो गर्दै क्याम्पस प्रमुख, आफू र कर्मचारी संजीव कर्णलाई थुनेको थिए ।
कुनै बेला नेपालकै लोकप्रिय भए रा.रा.व.क्याम्पस जनकपुरको शैक्षिक अवस्था निकै कमजोर भएकाले दैनिक सरसफाईको साथै कक्षाकोठामा शिक्षक आउनुपर्ने भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघ आन्दोलित हुँदै आएको छ ।

























