‘म पाँच मिनेटका लागि मरेकी थिएँ’
वि.सं.२०७५ पुस २ सोमवार २०:२८
shares

‘मेरा ओठ निलो हुँदै थिए, मैले शास लिन बन्द गरिसकेको थिएँ, मुटुको धड्कन रोकिएको थियो ।’ बेलायतकी लारा डालेसियो भन्छिन्, ‘म पाँच मिनटका लागि मरेको थिएँ, डाक्टर चाहिँ मलाई बचाउन प्रयास गरिरहेका थिए ।’
२७ वर्षीया लारा तीन वर्ष पहिलो जब कामबाट घर आइन्, अचानक बेहोस भइ भुईमा ढलिन् । पेशाले नर्स उनलाई ‘कार्डिएक अरेस्ट (मुटुसँग जोडिएको बिमार) भएको थियो ।
बेलायतमा ८० हजारभन्दा बढी युवालाई थाहा छैन्, उनीहरु मुटुसँग सम्बन्धित रोग लिएर बाँचिरहेका छन् । ब्रिटिश हार्ट फाउन्डेशनले यसबारे चेतावनी दिएको छ । ‘युवाहरुको लागि कार्डिएक अरेस्ट निकै खतरनाक छ,’ फाउन्डेशनको विज्ञप्तिमा उल्लेख छ । बेलायती समाचार संस्था बीबीसीले कार्डिएस्ट अरेस्टले युवाहरुको ज्यान लिन सक्ने तथ्यसहित तयार पारेको रिपोर्टलाई यहाँ प्रस्तुत गरिएको छ ।
अन्य युवाजस्तै लारा पनि मुट रोगबाट ग्रसित भएको कुराबारे अनभिज्ञ थिईन् । कार्डिएक अरेस्ट भएपछि उनका साथीहरुले उनलाई अस्पताल पुर्याए । इमर्जेन्सी सेवाका कारण लारा बाँच्न सफल भईन् ।
अस्पतालमा उनी तीन दिनसम्म कोमामा रहिन् । ‘जब म होशमा आएँ, मैले केही सोच्न सकिनँ र म रुन थालेँ ।
लारा ‘लङ्ग क्वीटी सिन्ड्रम’बाट पीडित रहेको कुरा परीक्षणपछि थाहा भयो । यो एक वंशाणुगत रोग हो, जसले मुटुको धड्कनलाई प्रभावित गर्ने गर्दछ । ‘त्यतिबेला म २४ वर्षकी थिएँ । मलाई लाग्यो, यही उमेरमा मलाई यस्तो रोग कसरी लाग्न सक्छ ?’
बूढापाकालाई मुटुको राेग लाग्ने गरेको थाहा पाए पनि युवा उमेरकालाई यस्तो रोग लाग्ने आफूले कल्पना नगरेको उनी बताउँछिन् । ‘मैले बूढा मानिसहरु मुटु रोगबाट मरेको देखेकी थिएँ, तर युवालाई पनि यस्तो हुन्छ भन्ने कल्पना पनि गरेकी थिईनँ,’ लाराले भनिन् ।
ब्रिटिश हार्ट फाउन्डेशनको ताजा रिसर्चका अनुसार १५ देखि २५ वर्ष उमेरका करिब ८३ हजार मानिस वंशाणुवत कारणबाट मुटुको बिरामी हुने खतरामा छन् । कहिले काहिँ कम उमेरमा पनि यो रोगका कारण मानिसको मृत्यु हुन सक्छ ।
यी मानिसमा कुनै खालको लक्षण पनि हुँदैन तर केही मानिसलाई कार्डिएक अरेस्ट भएको बेला भने समस्या पत्ता लाग्न सक्छ । निकै कम मानिसलाई यो बिमारबारे थाहा हुन्छ भने अधिकांश मानिस बिमारबारे अनभिज्ञ हुन्छन् ।
सेन्ट जर्ज युनिभर्सिटी अफ लन्डनमा मुटु रोगका प्रोफेसर डा. एलिजाह बेहर भन्छन्, ‘निकै कम मानिसलाई आनुवांशिक कारणले मुटुको रोग हुन्छ । तर, समग्रमा यो रोगका विरामी निकै छन् ।’
यस्तै खालको मुटु रोगबाट बेलायतमा हरेक वर्ष करिब १५०० युवाको मृत्यु हुने गरेको प्रा. डा. बेहरको भनाइ छ । ‘यस्तो रोगका पीडित पहिचान गरी उनीहरुको ज्यान बचाउनु निकै चुनौतिपूर्ण काम हो,’ उनले भने ।
प्रोफेसर बेहर अहिले आनुवांशिक कारणबाट हुन हार्ट अट्याकमाथि रिसर्च गरिरहेका छन् । यो खोज मुटुका कारण अचानक हुने मृत्यु रोक्न सहयोगी हुने उनको विश्वास छ ।
विशेषज्ञहरु रोग पत्ता लगाउनका लागि युवाहरुले अनिवार्य रुपमा स्क्रीनिङ गराउनुपर्ने सुझाव दिन्छन् । कतिपयले भने यस क्षेत्रमा थप खोज अनुसन्धानको आवश्यकता औंल्याएका छन् ।
सन् २०१६ मा बैरी र गिल विल्किन्सनका छोरा डेन विल्किन्सन फुटबल खेल्दा खेल्दै अचान ढले र केही समयमै उनको मृत्यु भयो । त्यतिबेला डेन २४ वर्षका थिए र उनको लाइफस्टाइल निकै एक्टिभ थियो । उनी हुल सिटीको युवा टोलीबाट फुटबल खेल्थे । डेनका पिताले भने, ‘उसलाई मुटुको गम्भीर रोग रहेछ, तर हामी कसैलाई पनि यसबारे थाहा थिएन ।’
तन्दुरुस्त देखिएको छोरालाई अचानक त्यस्तो होला भनेर आफूहरुले कल्पना पनि नगरेको उनले बताए । ‘२४ घण्टा पहिले मात्रै हामीले उसँग भिडियो च्याटमा कुरा गरेका थियौं, त्यतिबेला ऊ सामान्य लागेको थियो,’ डेनका पिताले सम्झिए, ‘पछि पो थाहा भयो डेन एक खालको मुटु रोगसँग जुधिरहेको रहेछ ।’
यो खालको रोगमा व्यक्तिको मुटुको आस–पासको भाग कमजोर हुन्छ र यसबाट कार्डिएक अरेस्ट हुन्छ ।
बैरी सम्झन्छन्, ‘उसको टिमकै केटाहरुले मलाई फोन गरेर भने डेन बेहोश भयो, त्यसैले तपाईंहरु आउनुपर्यो ।’ तर, अस्पताल पुर्याउन नपाउँदै डेनको मृत्यु भयो ।
डेनकी आमा भन्छिन्, ‘यो हाम्रा लागि ठूलो बज्र थियो ।’ यति भनेलगत्तै डेनका आमा–बुवाको आँखामा आँसु टिलपिलाए ।
बैरी र गिरले च्यारिटीबाट पैसा जम्मा गरी फुटबल खेल्ने युवाहरुका लागि डिफिब्रिलेटर किनेका छन् । यो उपकरण कार्डिएक अरेस्टका समय प्रयोग गरिन्छ । यसको मद्दतबाट उनीहरु एक १४ वर्षीय किशोरको ज्यान बचाउन सफल भएका थिए ।
मृत्युको मुखमा पुगेर फर्किएकी लारा अब आफ्ना अनुभव बाँडेर मानिसहरुमा चेतना फैलाउन चाहान्छिन् । ‘म युवाहरुलाई भन्न चाहान्छु, तपाईंहरुलाई पनि मलाई जस्तै हुन सक्छ, मुटुको रोग जो कोहीलाई पनि हुन सक्ने रहेछ,’ लाराले भनिन् ।
लाराको छातीमा एक डिफिब्रिलेटर र पेसमेकर लगाइएको छ, कुनै पनि बेला आवश्यक पर्दा उनले यसको प्रयोग गर्न सक्निेछिन् । ‘हिजोआज म आफ्ना साथीहरुसँग खुलेर घुम्छु, किनकि मलाई थाहा छैन फेरि कहिले म ढल्छु र यसरी घुम्ने मौका पाउँछु ।’



























