भ्रष्टाचार गरेको भन्दै महेन्द्र मोरङका क्याम्पस प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने
वि.सं.२०७५ पुस ३ मंगलवार २०:०१
shares

क्याम्पसमा अनियमितता गरेको आरोपमा विद्यार्थी संगठनहरुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्रमुखलाई कार्यकक्षमै थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा विद्यार्थीहरुले तोडफोड समेत गरेका छन ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वीयू र नयाँ शक्ति निकट विद्यार्थी संगठनको महेन्द्र मोरङ क्याम्पस इकाइ कमिटीमा आबद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा राखेर बाहिरबाट ताला लगाएका हुन् ।
क्याम्पस प्रमुख विरुद्ध नाराबाजीगर्दै गएका उनिहरुले तोडफोड गर्नुकासाथै तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठा अघिल्लतिर रहेको सभाकक्षको कुर्सी टेबुल र नेमप्लेट तोडफोड गर्नुकासाथै कोठाका पर्दाहरु च्यातेर फालिदिएका छन् ।
केही महिनायता क्याम्पसका लागि १ करोड बढीको कार्यालय तथा शैक्षिक सामाग्रि खरीद गरिएको र त्यसमा ब्यापक अनिमियता भएको विद्यार्थी संगठनहरुको आरोप छ । एक करोड बढीको सामाग्रि खरीद गरिए पनि कमिसनको लोभमा चार–चार लाखको कोटेशनबाट ती सामाग्रि खरीद गरिएको उनीहरुको दाबी छ । क्याम्पसमा जर्जर अवस्थामा रहेको लाइब्रेरी मर्मत सम्भारका लागि निकालिएको २१ लाखको टेण्डरमा समेत अनियमितता भएको र क्याम्पस परिसरभित्र रहेका रुखहरु जथाभावी कटान गरेर विक्रि गरिएको विद्यार्थी नेता जसवन्त पौडेलले बताए । उनिहरुले नैतिकताका आधारमा क्याम्पस प्रमुख तिम्सिनाले राजिनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

























