धनुषामा बोल्न नसक्ने ७ वर्षीया बालिका बलात्कृत, अवस्था चिन्ताजनक
वि.सं.२०७५ पुस ३ मंगलवार २०:१३
shares

धनुषामा ७ वर्षीय बालिकामाथि बलात्कार भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ टरियाकी ७ वर्षीया बालिकालाई छिमेकी २५ वर्षीय रोशन बस्नेतले चकलेट दिने प्रलोभन देखाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । मानसिक रोगी बुवा र दृष्टिवहीन आमाकी बोल्न नसक्ने ७ वर्षीया छोरीलाई बस्नेतले रक्सी खाएर आइ चक्लेट दिन आएको भन्दै राति १० वजे बालिकाको घर पुगेर ढोका खोल्न लगाएका थिए ।
छिमेकी नै भएकाले ढोका खोलेपछि छोरीलाई चकलेट दिन्छु भन्दै लिएर हिँडेका बस्नेत लामो समयसम्म नआएपछि आवाजले चिनेका बस्नेतबारे छिमेकीहरुलाई जानकारी दिएको पीडित आमाले प्रहरीसमक्ष बयान गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर सरोज राईले जानकारी दिए ।
बालिकाकी आमाकोे भनाइअनुसार बालिकालाई खोज्दै जाँदा नजिककै उखुवारीमा रक्ताम्य एवं गम्भीर अवस्थामा फेला परेकी थिईन् । घटनास्थलबाटै बलात्कारीको आरोपमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उखुवारीमा रक्ताम्य भेटिएकी बालिकालाई उपचारका लागि सुनसरीस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अहिले पनि बालिकाको अवस्था चिन्ताजनक रहेको छ भने स्वास्थ्य परिक्षणका लागि बस्नेतलाई पनि धरान नै पठाइएको छ ।

























