काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बजारिया मास्कले थेग्दैन काठमाडौंको प्रदूषण

13.68K
shares

तपाईं मुलुकको राजधानी काठमाडौंमा हुनुहुन्छ र यहाँको हावाबाट बच्न मास्क लगाउने गर्नुभएको छ भने विचार पुर्याउनुस्, तपाईंले लगाएको मास्कले यहाँको प्रदूषणबाट हुने असर नरोक्न पनि सक्छ । प्रदूषणबाट बच्न हामीमध्ये धेरैले कपडासहित सर्जिकल वा ‘डिस्पोजेबल’ मास्कको प्रयोग गरिरहेका हुन्छौं । तर, यस्ता मास्कले काठमाडौंको प्रदूषण थेग्न नसक्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार आँखाले ठम्याउन नसकिने मसिना हानिकारक कणलाई बजारिया मास्कले छेक्न सक्दैन । काठमाडौंको वायुमा २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा पनि सूक्ष्म धुलोका कण भेटिएको छ । ती कण छेक्न बजारमा पाइने कपडा र सर्जिकल मास्कले नसक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानले देखाएको छ ।

परिषदका सदस्य सचिव डा. खेम कार्की कपडाको मास्कले मानव स्वास्थ्यका लागि कुनै पनि फाइदा नहुने बताउँछन् । नेपालमा सबैभन्दा बढी प्रयोग हुने कपडाको मास्क बिनाअनुसन्धान, बिनाजानकारी उत्पादन गरिएको हुँदा मानव शरीरलाई असर गर्ने पीएम २.५ धुलो सजिलै छिर्ने उनको भनाइ छ । पीएम २.५ धुलोको कण मानिसको कपालभन्दा पनि ७० गुणा मसिनो हुन्छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पल्मोनोजी तथा क्रिटिकल केयर मेडिसिन विभागका उप–प्राध्यापक डा. निरज बम मास्कको प्रयोगबारे अनभिज्ञ हुँदा धेरै मानिसहरु सर्जिकल वा डिस्पोजेबल मास्क प्रयोग गरिरहेको बताउँछन् । यस्ता मास्कले काठमाडौंको प्रदूषण थेग्न नसक्ने बरु उल्टै असर गर्ने उनको भनाइ छ । ‘रुमाल, स्कार्फ वा कपडाबाट निर्मित मास्कको प्रयोगले रोगका किटाणु तथा भाइरस सार्न सक्दछ,’ उनले भने, ‘त्यसैले एन ९५ र एन ९९ मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ ।’  नेपाल हेल्थ रिसर्च काउन्सिलले सन् २०१५ मा गरेको एक अध्ययनले हानिकारक कण छेक्न नसक्ने मास्क प्रयोगले नौजनाको मृत्यु भएको देखाएको थियो ।

डा. लोचन कार्की पनि अहिले बजारमा रहेका मास्कको प्रयोगले उपत्यकाको धुलोबाट जोगिन नसकिने बताउँछन् । ‘हामीकहाँ प्रयोग हुने मास्कले कीटाणु र कणबाट बचाउँदैन,’ उनले भने, ‘हामीले प्रयोग गर्ने मास्कले मोटामोटी धुलो र बाहिरी गन्धलाई मात्र रोक्छ तर मसिना हानिकारक कीटाणु र धुलोका कण सहजै फोक्सोमा प्रवेश गर्छन् ।’

वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बम एन ९५ र एन ९९ तुलानात्मक रुपमा महँगो हुने भएकाले डिस्पोजल मास्कले केही हदसम्म धुलोका कणबाट बचाउने बताउँछन् । यद्यपि, यो पूर्ण सुरक्षित भने नहुने उनले बताए ।

काठमाडौंमा प्रदूषण बढाउने कारक तत्व इँटाभट्टा र थोत्रा सवारीसाधन हुन् । अर्कोतिर, मेलम्ची खानेपानी आयोजनाले पाइप लाइन बिच्छ्याउन सडक खन्दा प्रदूषण झनै डरलाग्दो बनेको छ । विस्तार गर्न भत्काइएका सडक अलपत्र छाड्दा पनि धुलोको प्रदूषण बढेको छ । काठमाडौं उपत्यकामा बिहान ६ देखि ९ र साँझ ७ देखि ९ बजेसम्म अत्यधिक प्रदूषण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । उपत्यकाको अहिलेको प्रदूषण सूचक पनि खतरनाक छ ।

 

धुलो र धुवाँको असर

वातावरण विभागका अनुसार काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अनियन्त्रित बनेको छ । प्रदूषणकै कारण काठमाडौंबासीमा नाक, कान, घाँटीको समस्या बर्सेनि ३० प्रतिशतले बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हावामा पाइने पीएम २.५ भन्दा कमका सूक्ष्म कणमा सल्फेट, नाइट्रेट, कालो कार्वनलगायतका प्रदूषण हुन्छ जुन मानव स्वास्थ्यका लागि घातक हो । अहिले काठमाडौं उपत्यकाको सात स्थानबाट वायुमा रहेको धुलो र धुँवाको मात्रा वातावरण विभागले मापन गरिरहेको छ । धुलोका कणलाई तीन तह (पीएम १०, पीएम २.५ र पीएम १ बाट मापन गर्दै आएको विभागका अनुसार पीएम २.५ भन्दा कम रहेका धुलो तथा धुवाका कण माक्सको प्रयोगबाट पनि रोकिँदैन । पछिल्लो एक साताको वायु प्रदूषण मापनअनुसार हावामा रहेका पीएम १०, पीएम २.५ र पिएम १ को मात्रा दैनिक बढिरहेको छ । २.५ पीएम धुलोको कणमा मानव शरीरलाई नोक्सान गर्ने कणहरु प्रशस्तै बसेका हुन्छन् । जुन धुलोको कणले गर्दा मानव स्वास्थ्यका महत्वपूर्ण अङ्ग मुटु, फोक्सोमा प्रत्यक्ष असर गर्ने चिकित्सकहरु बताउँछन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बम गाडीको धुवाधुलो, सुर्तीजन्य पदार्थबाट निस्कने पीएम २.५ भन्दा साना धुलाका कणले रुघा लाग्ने, नाकबाट निरन्तर सिगान बग्ने, सास फेर्नमा समस्या हुनेलगायतका समस्या आउने बताउँछन् ।

 

कुन मास्क प्रयोग गर्ने ?

काठमाडौं उपत्यकामा अहिलेलाई मास्कको विकल्प छैन । अतः मास्क बाध्यता बनेको छ । तर, धेरैजसोले ५ देखि १० रुयैयाँ पर्ने पेपरमास्क वा कम्तिमा २० रुपियाँदेखि पाइने कपडाको मास्क प्रयोग गर्दै आएका छन् । कतिपयले सस्तो भएका कारण यस्तो मास्क लगाउँछन् भने कतिपयले थाहा नपाएर लगाउँछन् ।

स्वास्थ्यको हिसाबले एन ९५ र एन ९९ मास्क उपयुक्त हुने विज्ञहरु बताउँछन् । मानव स्वास्थ्यका लागि हानिकारक रहेको धुलोको कण २.५ पीएम तथा अन्य धेरै स्वास्थ्यको विषयमा अनुसन्धान गरेर उत्पादन गरिएको मास्क हो । तर, यस्तो मास्क प्रयोग गर्नेको संख्या औँलामा गन्न सकिन्छ । महंगो हुने तथा लगाउन्जेल सास फेर्न असजिलो हुने भएकाले यस्ता मास्क प्रयोग गर्नेको संख्या कम छ । यस्ता मास्क फिल्टर जडानयुक्त भएकाले सजिलै अक्सिजन प्रवाह हुँदैन जसले गर्दा टाउको दुख्ने, चक्कर लाग्ने, सास फेर्नमा कठिनाइ हुने गर्दछ । यस्तो मास्क विशेषतः स्वास्थ्य अनुसन्धान र अपरेसन वार्डमा खटिने चिकित्सकहरुले बढी गर्ने गर्दछन् ।

वातावरणविद् शिशिर शर्माका अनुसार प्रदूषणबाट बच्न २.५ माइक्रोमिटर साइजका कण पनि नछिर्ने गरी बनाइएका मास्क प्रयोग गनुपर्छ । ‘अहिले यो साइजमा बनेका ‘तोतो बोबो’ र ‘भोग मास’ गरी दुईवटा मास्क नेपालमा पाइन्छ,’ उनले भने, ‘जसमा एन ९५ र एन ९९ मापदण्ड निर्धारण गरिएकाले मसिनो कण फोक्सोमा प्रवेश गर्न पाउँदैन ।’ यीमध्ये एन ९५ ले ९५ प्रतिशत हानिकारक कण रोक्छ भने एन ९९ ले ९९ प्रतिशत कण रोक्न मद्दत गर्छ । यी मापदण्ड युरोपियन ल्याबले निर्धारण गरेको उनको भनाइ छ ।

 

सरकारले ध्यान दिनुपर्ने

आफ्ना नागरिकको स्वास्थ्यमा पर्दै गरेको गम्भीर असरप्रति सरकार बेलैमा सजग हुनुपर्नेमा वातावरणविदहरुले जोड दिएका छन् । वातावरण स्वच्छ र सफा राख्न सकेको खण्डमा मानव स्वास्थ्यमा कम असर हुने उनीहरु बताउँछन् । ‘यी सबै उपाय केही समयसम्मका लागि मात्रै हो । दीर्घकालीन उपाय भनेको वातावरण सफा राख्नु नै हो,’ शर्मा भन्छन्, ‘अहिले उपत्यकामा बाटो तथा घर निर्माण भइरहेको छ तर त्यस्ता ठाउँबाट निस्कले धुलोधुवाँभन्दा सवारी साधनबाट निस्कने धुलोधुवाँ मानव स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ ।’

काठमाडौं उपत्यलाई सफा र स्वाच्छ नबनाउने र सवारी साधनको संख्या उस्तै रहने हो भने प्रदूषणमा कमी नआउने विज्ञहरुको भनाइ छ । व्यस्त सडक भएको कारण उपत्यकमा कम गतिमा सवारी साधनहरु चल्ने गरेका छन् १ देखि २ नम्बरको गेयरमा चल्ने अर्थात् कम गतिमा चल्ने सवारीसाधनबाट निस्कने धुवाँले मानव स्वास्थ्यमा बढी असर पुर्याउँछ । काठमाडौँ उपत्यका खाल्डोमा भएको हुँदा यहाँको प्रदूषण उडेर अन्यत्र जाने सम्भावना कम छ । त्यसैले मानव स्वास्थ्यमा खेलबाड नगर्ने हो भने सरकारले उत्यकाको सवारी साधनको संख्या घटाउनुपर्ने बातावरणविदहरु बताउँछन् ।

 

आफैंले ध्यान दिनुपर्ने

वायु प्रदूषणबाट जोगिन आफैं बढी सचेत हुन आमनागरिकलाई चिकित्सकहरुले सुझाव दिएका छन् । यसका लागि मर्निङ वाक नगर्न, गर्नै परे सडकभन्दा टाढाको खुला स्थान रोज्न र भरपर्दो मास्क लगाएर हिँड्न चिकित्सकहरुको सुझाव छ । उनीहरुका अनुसार बिहान ९ बजेअघि मानिसको चलहपहल बढी हुने क्षेत्रमा निस्कनु पनि हानिकरण हुन सक्छ भने फोहोर जलाउँदा पनि त्यसले स्वास्थ्यमा असर पुर्याउने छ ।

 

‘स्वच्छ हावा’को माग गर्दै नेविसंघका नेताहरु महानगरमा

वायु प्रदूषण डरलाग्दो भएपछि प्रमुख प्रतिपक्षी दलमा आबद्ध नेपाल विद्यार्थी संघले ‘स्वच्छ हावा’को माग गर्दै काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । काठमाडौंमा बढ्दो प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै नेविसंघका नेताहरुले बिहीबार महानगरपालिका पुगेर प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘जनप्रतिनिधि आएपछि जनजीवन सहज होला भन्ने आमनागरिकको अपेक्षा थियो,’ ज्ञापनपत्र बुझाएपछि नेविसंघका महामन्त्री कुन्दन काफ्लेले भने, ‘तर धुलो र धुवाँका कारण उपत्यकाबासी झन् संकटमा पर्दै गएका छन्, यसलाई नियन्त्रण गर्न हामीले महानगरको ध्यानाकर्षण गराएका हौं ।’ स्मार्ट सिटी बनाउने घोषणा गरेको महानगरपालिकाले पहिला काठमाडौंको हावा स्वच्छ बनाउनुपर्ने नेविसंघका नेताहरुको माग छ । ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख शाक्यले काठमाडौंलाई स्वच्छ र हराभरा राख्न आफूले सबै संयन्त्र परिचालन गरेको जानकारी गराए ।