दसैँमा एटिएमबाटै १०० का नयाँ नोट पाइने
वि.सं.२०८३ असोज २२ बिहीवार १३:११
shares

सारांश
- दसैँमा एटिएमबाटै रु १०० का नयाँ नोट पाइने व्यवस्था गरिएको छ।
- राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला तथा सफा नोट उपलब्ध हुनेछन्।
- दसैँमा चलनचल्तीको मुद्रा करिब ८–१० प्रतिशत बढ्ने राष्ट्र बैंकको अनुमान छ।
काठमाडौं । यसपालिको दसैँ तथा चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटिएम मेसिनबाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएमबाट रु १०० का नोट वितरण गर्न थालेका छन् । यससँगै सर्वसाधारणले बैंकको काउन्टरमा लामो समय लाइन बस्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै यसपटक नयाँ नोट वितरणबारे अनावश्यक प्रचार नगरेको बताए । उनका अनुसार चाडपर्वका लागि राष्ट्र बैंक तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध हुने व्यवस्था गरिएको छ ।
पौडेलका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था भइरहेको छ ।
राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्व लक्षित नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै आएको जनाएको छ । नयाँ नोटको सट्टा सुकिला तथा सफा नोटको प्रयोगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको हो ।
राष्ट्र बैंकका अनुसार गत भदौ ३१ गतेसम्म मुलुकमा रु ७ खर्ब ९४ अर्ब बराबरको मुद्रा चलनचल्तीमा रहेको छ । दसैँका बेला उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको प्रवक्ता पौडेलले बताए।
























