काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोरियामा भारी बोकेका हिरामणी स्वदेशमा इखैले बने सफल उद्यमी

16.02K
shares

रुपन्देही रुद्रपुरका हिरामणी ढकाल २० वर्षको उमेरमै कोरिया पुगे । पढेलेखेका युवासमेत विदेशिन थालेपछि उनलाई लाग्यो, नेपालमा पढेर केही नहुने रहेछ । त्यसपछि उनले कोरियाको लागि प्रयास गरे र सफल पनि भए । सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएका उनी आफ्नो करिअरभन्दा पनि बढी आफ्नो परिवारको तात्कालीन गर्जो टार्नेबारे सोचेर कोरिया हानिए ।

किसानको छोरा भएर पनि त्यति धेरै खेतीपातीको काम नगरेका उनले कोरिया पुगेपछि मात्रै थाहा पाए, काम के हो ? दुःख के हो ? । ‘मैले त्यहाँ डेढ वर्ष त समुद्रको माछा टिपेँ’, उनले न्युज कारोबारसँग भने, ‘त्यसपछि दुई वर्ष बोरामा भारी पनि बोकेँ ।’

त्यति दुःख गर्दा पनि उनले सुरुमा ६० हजार रुपैयाँभन्दा बढी कमाउन सकेनन् । झण्डै १२ वर्ष कोरिया बसेका उनले कालान्तरमा केही सन्तोषजनक तलब पाउन थालेका थिए । तर त्यतिबेलासम्म उनले आफ्नो विचार परिवर्तन गरिसकेका थिए । ‘पढेलेखेकाहरु सबै विदेश हानिए, काम गर्नेहरु पनि विदेश नै हानिए । अब देशमा काम गर्ने सीप भएको मान्छेहरु खोइ त ?’ पहिला आफूलाई कमजोर ठान्ने हिराणीले अब सोच्न थाले, ‘पढेर मात्रै हुने केही होइन, व्यवहारतः जसले गर्छ ऊ सफल हुन्छ । मैले व्यवहारतः काम पनि गरेको छु । म मेहनत गर्न पनि सक्षम छु । अब आफ्नै देशमा गएर केही गर्छु ।’ १२ वर्ष अर्काको भूमिमा काम गर्दा सिकेको सीप र मिहेनत अब आफ्नै देशमा कार्यान्वयन गर्ने सोच आएपछि उनी नेपाल फर्किए ।

नेपाल सरकारले कृषिमा लाग्न चाहने युवाहरुको लागि विशेष व्यवस्थाहरु गरेकोबारे समाचारहरु उनले सञ्चामाध्यमबाट पढ्थे र सुन्थे । त्यसैले उनले त्यसबारे नेपाल आएपछि थप बुझे । बुझ्ने क्रममा उनी आफ्नै गाउँमा त्यतिखेर भर्खरै शाखा विस्तार गरेको शाइन रेसुङगा डेभलपमेन्ट बैंक, रुद्रपुरमा पुगे । ‘शाइन रेसुङगा बैंकका म्यानेजर बिमल सरले मलाई थप हौसला प्रदान गर्नुभयो’, उनले भने, ‘उहाँकै सल्लाहअनुसार मैले बुटवलमा रहेको एउटा घर धितो राखेर बैंकबाट लोन लिएँ र माछापालनमा लागेँ ।’

झण्डै चार वर्षअघि शाइन रेसुङगा डेभलपमेन्ट बैंकबाट २० लाख रुपैयाँ ऋण लिएर उनले सुरु गरेको माछा पालन व्यवसाय अहिले झण्डै ४५ लाखभन्दा बढीको भएको छ । आफ्नै व्यक्तिगत १० कट्ठाबाहेक अहिले उनले ६ बिघा जग्गा भाडामा लिएर माछापालन गरिरहेका छन् र फाइदा पनि लिईरहेका छन् । उनले माछासँगै हाँस र कुखुरासमेत पालेका छन् । ‘करिब एक डेढ वर्षअघिसम्म माछाबाट अपेक्षाअनुरुप फाइदा लिन सकिनँ ।’ उनले भने, ‘अहिले राम्रै छ, व्यापारको हिसाबले पनि म सन्तुष्ट छु ।’

हाल उनले तीन पाँचजनालाई आफ्नो फार्ममा रोजगारी दिएका छन् । पूर्णिमा फिसरी नामको फार्मबाट अहिले उनले उन्नत जातका माछाका भुरा तथा हाँस र लोकल कुखुराका चल्लाहरु विक्री गर्दै आएका छन् । फार्मको आम्दानी राम्रै भएकाले बैंकको ऋणसमेत समयमै तिर्न उनलाई कुनै समस्या छैन । उनको मासिक आम्दानी सरदर एकलाख रुपैयाँ छ ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंक रुद्रपुर शाखाका लेखनाथ पौडेलले हिरामणी असल ऋणी भएको बताए । ‘उहाँ हाम्रो असल ऋणी हो’, पौडेलले भने, ‘छोटो समयमा राम्रो प्रगति गर्ने उदाहरणीय उद्यमी पनि ।’ नेपालका युवाहरुमा स्वदेशमा मिहेनत गर्ने बानी नरहेको हिरामणी बताउँछन् । उनी भन्छन्, ‘युवाहरुलाई एकपटक विदेश जान दिनैपर्छ ।’ त्यहाँ गएपछि उनीहरुलाई थाहा हुन्छ दुःख के हो र काम कसरी गर्नुपर्छ । योसँगै केही सीप पनि सिकेर आउँछन् ।’

बैंकलाई बुझ्नेले यसबाट फाइदै फाइदा लिन सक्ने हिरामणीको भनाइ छ । बैंकबाट १०–१२ प्रतिशत तिर्नुपर्ने भए पनि पाएको पैसालाई सही ठाउँमा सदुपयोग गर्न सक्ने हो भने त्योभन्दा दोब्बर कमाउन सकिने उनले बताए । सरकारी स्तरबाट पनि युवालाई तालिम तथा सीप प्रदान गर्ने खालको कार्यक्रमहरु ल्याउनुपर्नेमा उनले जोड दिए । देश समृद्ध बनाउन तल्लो स्तरबाटै नागरिकहरु सचेत हुने र आफ्नो लागि अरु कसैले गरिदिँदैन आफैंले गर्नुपर्छ भनेर काम गर्न थाल्ने हो भने देश बन्न कति पिन समय नलाग्ने हिरामणी बताउँछन् ।

रुद्रपुर रुपन्देहीको एउटा ग्रामिण क्षेत्र हो जहाँ बैंक तथा वित्तीय संस्थाको उपस्थिति पनि पातलो छ । ती बैंक तथा वित्तीय संस्थामा कारोबार गर्नेको संख्या पनि पातलै छ । यद्यपि, यो क्षेत्र कृषि तथा उत्पादनमूलक व्यवसायका लागि अति सम्भावित मानिन्छ । बुटबलबाट भण्डै दुई कोष पश्चिममा रहेको रुद्रपुरमा बैंकबाट ऋण लिएर उद्यमशील बनेका हिरामणी अहिले सो क्षेत्रका उदाहरणीय कृषक हन् । उनको सिको गरेर अन्य युवा पनि अहिले उद्यमशीलतामा लागेका छन् ।