इपिएल उपाधिका भैरहवा र ललितपुर भिँड्दै
वि.सं.२०७५ पुस ७ शनिवार १६:१५
shares

+राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा शनिबार भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली फाइनल प्रतिस्पर्धाका लागि साढे १२ बजे पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित टियु क्रिकेट मैदान उत्रनेछन् ।
साबिक उपविजेता समेत रहेको भैरहवा नेपाली राष्ट्रिय टोलीका सदस्य शरद भेषावकरको कप्तानीमा मैदान उत्रनेछ । ललितपुर नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा हुनेछ । दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई हराएर उपाधि नजिक पुगेका हुन् ।
यस संस्करणको लिग चरणमा तेस्रो स्थानमा रहँदै भैरहवाले प्ले अफमा स्थान बनाएको थियो । त्यसपछि इलिमिनेटरमा भैरहवाले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । क्वालिफायरमा भैरहवाले काठमाडौंलाई पराजित गरेको थियो ।
यता, ललितपुर भने लिग चरणमा शीर्ष स्थानमा रहँदै सीधै पहिलो क्वालिफायरमा पुगेको थियो । र, ललितपुरले काठमाडौंलाई १ विकेटले पराजित गरी फाइनल यात्रा तय गरेको हो । भैरहवाविरुद्ध ललितपुर अघिल्ला खेलको लयलाई कायम राख्ने योजनमा छन् ।

























