ज्यापु दिवस र उधौली पर्व मनाइँदै, धान्यपूर्णिमा पनि आजै
वि.सं.२०७५ पुस ७ शनिवार १६:२६
shares

धान्यपूर्णिमा, उधौली पर्व र १५ औं ज्यापु दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गरेका छन् ।
पहाडी क्षेत्र र अन्य स्थानमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् भने नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् ।
योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने खुवाउने चलन छ । नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा पनि मनाउने गरिन्छ ।
१५ औं राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकुबाट भित्री शहर हुँदै बसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्यालीसहित सभा गर्ने कार्यक्रम छ । ०६१ सालमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।
के हो योमरी ?
नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यसभित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ । योमरी अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ । योमरी कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारीक दिन पनि शनिबारबाटै प्रारम्भ भएको ठानिन्छ ।
उधौली पर्वको रौनक
यसैगरी किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । यसदिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका किराँत समुदाय शनिबारदेखि नै जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । एउटा समग्र वर्षलाई चराहरुको बसाइँसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उभौली र उधौंली । पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेषभुषा लगाइ आज (शनिबार) किराँत समुदायका मानिस सार्वजनिक स्थलमा भेला भएर पारम्परीक ‘साकेला’ नृत्य प्रस्तुत गर्नेछन् ।

























