कांग्रेसको विधान मस्यौदा महासमितिबाट परिमार्जनसहित पारित हुने
वि.सं.२०७५ पुस ८ आइतवार ००:४३
shares

नेपाली कांग्रेसको विधान महासमिति बैठकले परिमार्जनसहित पारित गर्ने भएको छ । केन्द्रीय समितिले पारित गरेको विधानमा केही व्यवस्था हेरफेर गर्न जिल्ला सभापतिहरुले सुझाव दिएका छन् । शीर्ष नेतृत्व पनि उनीहरुको सुझावअनुसार विधान मस्यौदा परिमार्जन गर्न सकारात्मक देखिएको केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए ।
शनिबार आठौं बैठकमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधान मस्यौदा पेश गरेका छन् । उक्त मस्यौदामाथि एक दर्जन जिल्ला सभापतिले धारणा राखेका छन् । बैठकमा काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, धनुषाका महेशशंकर गिरी, मकवानपुरका इन्द्र बानियाँ, रुपन्देहीका अब्दुर रजाक, ओखलढुंगाका प्रदीप सुनुवारलगायतले प्रस्तावित विधान मस्यौदाबारे बोलेका छन् । तीमध्ये कतिपय जिल्ला सभापतिले विधान मस्यौदामा केही कुरा छुटेको भन्दै थप्नुपर्ने बताएका केन्द्रीय सदस्य यादवले बताए । ‘केही जिल्ला सभापतिहरुले विधानमा थोरै परिमार्जन गर्न सुझाव दिनुभएको छ,’ यादवले न्युज कारोबारसँग भने, ‘सभापतिसहित वरिष्ठ नेता पनि यसमा सकारात्मक देखिनुभएको छ ।’
धनुषा, मकवानपुर, भक्तपुर, धादिङका जिल्ला सभापतिहरुले विधानका केही व्यवस्था हेरफेर गर्न सुझाएका छन् । सभपतिहरुले पार्टीका केन्द्रीय सदस्यहरू वडा तहबाटै चुनाव लड्न जानुपर्ने व्यवस्था विधानमा राख्नुपर्ने माग गरेका छन् । पार्टीमा समावेशी र संसद्मा समानुपातिक कोटा एक जनाले एकपटका लागि मात्रै प्रयोग गर्न पाउनुपर्ने व्यवस्था विधानमै राख्नुपर्ने माग पनि कतिपय जिल्ला सभापतिले उठाएका छन् । यही माग महासमिति सदस्यहरुले पनि उठाउँदै आएका छन् । विधानमा केन्द्रीय सदस्यहरू स्वतःमहाधिवेशन प्रतिनिधि हुने प्रस्ताव छ । यसप्रति महासमिति सदस्य र कतिपय जिल्ला सभापतिहरुले फरक मत राखेका छन् ।
उनीहरूले उम्मेदवार चयन गर्दा सङ्घीय संसद्को केन्द्रीय संसदीय समिति, प्रदेशको प्रदेश संसदीय समिति र स्थानीय तहको जिल्ला र स्थानीय संसदीय समितिले गर्ने व्यवस्था राख्नुपर्ने माग पनि अघि सारेका छन् ।
रुपन्देहीका अब्दुर रजाक, ओखलढुंगाका प्रदीप सुनुवारलगायतले समावेशी र समानुपातिक कोटाका विषयमा विधानले केही नबोलेकाले यसलाई सच्याउनुपर्ने माग गरे ।
यीबाहेक अन्य सभापतिले प्रस्तावित विधान मस्यौदालाई उत्कृष्ट भएको बताएका छन् । ‘कतिपय जिल्ला सभापतिहरुले महामन्त्रीजीले प्रस्तुत गर्नुभएको विधानलाई उत्कृष्ट पनि भन्नुभएको छ,’ यादवले भने, ‘तर पार्टीलाई एकताबद्ध बनाइराख्न फरक मतलाई पनि सम्बोधन गर्नुपर्ने र फरक मत पनि जायज भएकाले विधान परिमार्जनसहित पारित हुन्छ, यसमा दुईमत छैन ।’
नेताहरुका अनुसार आइतबार नै विधानमाथिको छलफल सकाएर पारित गर्ने तयारी छ । ‘परिमार्जन गर्नेबारे पनि आइतबार नै निर्णय हुन्छ,’ यादवले भने, ‘अब बैठकमा कुनै पनि खालको विवाद छैन र आउँदैन ।’
पदाधिकारीको संख्या र त्यसको निर्वाचन पद्धतीलाई लिएर नेताहरूबीचको विवाद लम्बिदा महासमिति बैठकमा विधान मस्यौदा ढिलो पेश भएको हो । विवादकै कारण महासमिति बैठक पनि तीन दिन लम्बिएको छ । १४ पदाधिकारीसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था राख्नेमा शुक्रवार सहमति जुटेपछि महामन्त्री खड्काले शनिबार बैठकमा मस्यौदा प्रस्तुत गरेका हुन् ।

























