गृहपृष्ठ एभरेस्ट बैँकको नाफा ३६ प्रतिशत घट्यो
एभरेस्ट बैँकको नाफा ३६ प्रतिशत घट्यो
एभरेस्ट बैँकले चालू आर्थिक वर्षको पुससमम्मा ३६ प्रतिशत नाफा घटेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैँकले पुससम्ममा ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५४ करोड ७९ लाख रुपैयाँ अर्थात् ३६.२९ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा बैँकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैँकको खुद ब्याज आम्दानी पनि १ अर्ब १ करोड १७ लाख घटेर १ अर्ब ८९ करोड ७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ७८ करोड ३० लाख घटेर १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँमा झरेको छ ।
चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । बैँकको प्रतिसेयर आम्दानीमा उल्लेख्य गिरावट आएको छ । प्रतिसेयर आम्दानी ३५.४८ रुपैयाँबाट घटेर २१.५३ रुपैयाँ कायम भएको हो । बैँकको प्रतिसेयर नेटवर्थ २१८.९३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.१२ गुणा छ ।
बैँकको निक्षेप १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १ खर्ब ५० अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब १२ अर्ब २१ करोड रुपैयाँबाट बढेर १ खर्ब १३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैँकको आधार दर ८.४६ प्रतिशतबाट ६.३४ प्रतिशतमा र स्प्रेड दर ५.३८ प्रतिशतबाट ३.७० प्रतिशतमा झरेको छ ।
प्रकाशित समय : १८:४६ बजे