गुर्जा दुर्घटना हिमपहिरो र आँधीका कारण : प्रहरी
वि.सं.२०७५ असोज २७ शनिवार २१:२९
shares

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमाल आरोहणमा गएका हिमपहिरो र आँधीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिमाल आरोहणमा गएका ९ जना मध्ये ८ को शव शनिबार बिहान फेला परेको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए । ५ विदेशी, ४ जना नेपालीसहितको टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेर शुक्रबार बेपत्ता भएका थिए । ७ हजार १ सय ९३ मिटर उचाइको गूर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वको ५ जना कोरियाली नागरिक गुर्जा हिमाल आरोहणमा गएका थिए ।
गुर्जा हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभाका ३९ वर्षीय छिरिङ भोटे, २१ वर्षीय लाक्पा सोङवु भोटे र फुर्वु भोटे तथा स्थानीय गुर्जाका नेत्रबहादुर छन्त्यालको पनि हिमआँधीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नास्थलमा रहेका गाईड लाक्पा शेर्पाका अनुसार, दुर्घटनामा दक्षीण कोरियाका जोहोन लि, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङ मो जियोङको मृत्यु भएको हो ।
काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बुढाका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो ।
टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । ‘गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको छ,’ डिएसपी बुढामगरले भने ।
केहीको शव टेन्टभित्र र केहीको शव टेन्ट बाहिर भेटिएको छ । घटनास्थल पुगेर फर्किएका गुर्जाका नेत्रप्रसाद छन्त्यालका अनुसार शवहरु क्षत विक्षत् अवस्थामा छन् भने टेन्टहरु यत्रतन्त्र छरिएका छन् । सिम्रिक एयरको हेलिकप्टरबाट उनीहरुको शव ल्याउने तयारी गरिए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेको प्रदेश प्रहरी प्रहरी कार्यालय गण्डकीका प्रमुख, डिआइजी दानसिंह बोहराले जानकारी दिए ।
शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको हो । मौसममा सुधार भएपछि पुनः खोजीमा जाने बोहराले बताए । घटनास्थलमा गूर्जाका २५ जना भन्दा बढी स्थानीय खोजीकार्यमा जुटेका छन् । जिल्ला सदरमुकाम बेनीदेखि चार घण्टा गाडी र आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँदेखि थप पाँच घण्टा हिँडेपछि दुर्घटनास्थल पुग्न सकिन्छ ।
२०६५ सालमा चुरेन हिमाल आरोहण भएपछि त्यसयता पहिलोपटक यो टोली हिमाल आरोहणका लागि आएको थियो । एक दशकपछि हिमाल आरोही लागि आएको पहिलो टोली नै हावाहुरीले दुर्घटनामा परेको छ । यसै साता मात्रै गुर्जा हिमाल र गूर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेका छन् । गुर्जा गाउँबाट करिब ५ घण्टाको दूरीमा रहेको आधार शिविरमा पुग्न नसकेर एक कोरियाली सहित ३ जनाको टोली भने बाटोबाटै फर्किएको छ ।

























