बुटवलमा एउटा धान रोपेकोमा ३५ वटा बाला
वि.सं.२०७५ असोज २९ सोमवार १७:०४
shares

तिलोत्तमा नगरपालिका कृषि विकास शाखाले पहिलोपटक धानमा अवलम्बन गरेको एसआरआई प्रविधि सफल भएको छ । केही समयअघि नगरपालिकाले प्रदान गरको तालिममा आधरित रहेर तिलोत्तमा नगरपालिका–६ का कृषक चेत बहदुर डगामीले उक्त प्रविधिअनुसार धान रोपेका थिए । बोटदेखि बोटसम्म र ड्याङदेखि ड्याङसम्मको दूरी २५ सेन्टिमिटर बनाएर रोपिएको उक्त धानले एउटा बोटमा ३५ वटासम्म बोट हालेको छ ।
कृषि विकास शाखा तिलोत्तमा नगरपालिकाका प्राविधिक साहायक युवराज ढकालका अनुसार पहिलोपटक परीक्षणको रुपमा डेढ कठ्ठामा लगाइएको धान राम्रो उत्पादन हुनेमा आफू ढुक्क रहेको बताए । सिस्टम अफ राइस इन्टिग्रेसन (एसआरआई) प्रविधि अपनाइएको उक्त धान आठ दिनको बिरुवा रोप्नुपर्छ । कृषकले ११ दिनको धानको बीउ रोपेका थिए ।
कृषकलाई नगरपालिकाले एक हजार रुपैयाँमात्रै सहयोगको गरेको थियो । प्राविधिक ज्ञान नगरपालिकाले पूर्णरुपमा प्रदान गरेको जानकारी दिँदै प्राविधिक सहायक ढकालले सोही प्रविधिलाई अपनाएर किसानले धान रोपेको बताए । अन्य सामान्य धानखेतीभन्दा पनि यो धानको बिरुवा रोप्दा लाइनदेखि लाइनको दूरी मिलाउनुपर्ने हुन्छ ।
दूरी मिलाएर रोप्दा झारपात उखेल्नसमेत सहज भएको तिलोत्तमा नगरपालिको जनाएको छ । धानको बीउ कम लाग्ने भएकाले किसानहरुको समय र पैसासमेत बचन हुनेछ । प्रगति कृषक समूहका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार यो धान अन्यभन्दा केही अग्लो भए पनि धानको झार गोड्न र बाली उपचार गर्न पनि सजिलो भएको छ ।
उक्त प्रविधिअनुसार एक हेक्टरमा धान रोप्दा जम्मा पाँच किलो बीउले पुग्छ । अहिले डेढ कठ्ठा धानमा किसानले जम्मा दुई मुठीमात्रै धान रोपेका छन् । पहिलो खेती गर्दा एक कठ्ठा क्षेत्रफलमा डेढदेखि दुई क्विन्टलसम्म धान उत्पादन हुने गरेकाको उक्त प्रविधि अनुसार करिब ३ क्विन्टल धान उत्पादन हुने अपेक्षा गरिएको छ ।

























