विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल
वि.सं.२०७५ कात्तिक ६ मंगलवार १६:२१
shares

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गरे ।
‘समग्र दाङको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ,’ मुख्यमन्त्री पोखरेलको भने । उनले दाङमा सिँचाइ र खानेपानीको समस्या रहेको भन्दै माडीको पानी दाङ ल्याउन प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिए । कुइरेपानीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेन बनाउनका लागि काम अगाडि बढेको बताउँदै पोखरेलले तुलसीपुरमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिए ।
अन्तक्र्रियामा नगरप्रमुख घनश्याम पाण्डेले बृहत् गुरुयोजना निर्माण गरेर दाङको विकासमा लागि काम गर्न आग्रह गरे । सडक बजेटलाई खण्डखण्ड बनाएर विनियोजन गर्नुभन्दा पनि एकै ठाउँमा राखेर बृहत् सडक योजना बनाउनका लागि नगरप्रमुख पाण्डेको आग्रह थियो । रासस ।

























