धनगढीबासीको रोजाइमा वातावरणमैत्री घर
वि.सं.२०७५ कात्तिक ६ मंगलवार १७:०५
shares

सुदूरपश्चिम प्रदेशमा वातावरणमैत्री घर निर्माणको माग बढ्दै गएको छ । कम समय र कम लागतमा बलियो र भूकम्प प्रतिरोधी घर बनाउने सकिने भएकाले यस्ता घरको माग बढेको हो ।
घरका विभिन्न भागहरु पहिले नै फ्याक्ट्रीमै बनेर आएपछि घर निर्माण गर्ने प्रविधि यो क्षेत्रमा पनि भित्रिएको छ । पहिलै बनेका सामग्रीलाई आवश्यकताअनुसार जोडेर आफूलाई मन परेको डिजाइनमा घर बनाउन सकिने प्रिफ्याब घर बनाउनेको संख्या सुदूरपश्चिममा बढ्दै गएको छ । वातावरणमैत्री हुने भएकाले ईको प्यानलसहितको प्रिफ्याब घरको माग बढेको यस्तो घर निर्माण गरिरहेका महेश जोशीले बताए ।
यसरी बनाउने घर धेरै सस्तो हुनुका साथै निकै कम समयमा पनि निर्माण गर्न सकिन्छ । कम समय र लागतमा बलियो र वर्षौं टिक्ने घर बनाउने प्रविधि सुदूरपश्चिमका बजारमा आएको छ । नेपाली र भारतीय उत्पादनका सामग्री प्रयोग गरेर थोरै बजेट भएका र छिटो घर बनाउन चाहनेका लागि यो घर राम्रो विकल्प भएको एभरेस्ट ब्रान्डका प्रिफ्याब घर निर्माणका सामग्रीको आधिकारिक वितरक जगदम्बा ट्रेडिङ कन्सर्नका सञ्चालक लोकराज भट्टले बताए ।
ईको प्यानलसहितका प्रिफ्याब घर बनाउँदा धेरै फाइदा हुने जानकारहरु बताउँछन् । यी घरहरु भूकम्प, पानी, आगो र ध्वनि प्रतिरोधी हुन्छन् । यो घर अन्य घरको तुलनामा धेरै चाँडो बन्छ । कंक्रिट प्रयोग गरेर बनाइने घरभन्दा धेरै सस्तो हुन्छ । थोरै मूल्यमा पनि भूकम्प प्रतिरोधी र धेरै वर्षसम्म टिक्ने घर निर्माण गर्न चाहनेहरुका लागि यस्तो घर सबैभन्दा उच्चतम निर्माण विकल्प बनेको निर्माण कार्यमा संग्लन जोशीको बुझाइ छ ।
प्रिफ्याब घर एक यस्तो घर हो, जसका विभिन्न भाग पहिले नै फ्याक्ट्रीमा बनाइन्छ र निर्माणको समयमा निर्माण स्थलमै लगेर जडान गरिन्छ । यस्तो घरमा आगलागीको पनि डर हुँदैन ।
पहिले नै फ्याक्ट्रीबाट इन्जिनियर र विशेषज्ञहरुबाट बनाइने भएकाले अप्रत्यासित गल्ती हुने सम्भावना अति नै कम हुन्छ । यो घर बनाउनका लागि धेरै जगको आवश्यकता नपर्ने जगदम्बा ट्रेडिङ कन्सर्नका सञ्चालक भट्टले जानकारी दिए ।

























