दसैंपछि कार्यलय खुले तर सेवाग्राही आएनन्
वि.सं.२०७५ कात्तिक ६ मंगलवार १७:५१
shares

दसैंका लागि विदा भएका सरकारी कार्यालय आइतबारदेखि खुले पनि सेवाग्राही नआउँदा सुनसान बनेको छ । अधिकांश कार्यालयमा आधा जसो कर्मचारी आइसकेका छन् ।
घर नजिक भएका कर्मचारी आइतबारदेखि नै कार्यालयमा हाजिर भए पनि सेवाग्राही भने फाट्ट फुट्ट मात्र देखिन्छन् । बडादसैंको बाह्रौं दिनदेखि कार्यालय खुलाइँदै आएको छ । सरकारले नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने उद्देश्यले सरकारी कर्मचारीलाई दसैं विदा कटौती गरे पनि सेवाग्राही नआउँदा विदा कटौतीको नतीजा देखिएको छैन ।
मन्त्रालय, विभाग तथा जिल्ला कार्यालय, स्थानीय तह वडा कार्यालय खुलेका छन् । दसैं नसकिँदै कर्मचारीलाई विभिन्न कार्यालयमा खटाए पनि कार्यालयमा भने सेवाग्राही नआउँदा विदा कटौतिको औचित्यको बारेमा समेत प्रश्न उठेको छ ।
नागरिकता र राहदानी बनाउनेको भीड लाग्ने देसैभरका जिल्ला प्रशासन कार्यालय सुनसान छ । एकै दिनमा नयाँ र पुराना प्रतिलिपि गरी २ सय बढी नागरिकता बनाउँदै आएको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही दुई चार जना आएका थिए ।
दसैंमा गणतन्त्र अघि १५ दिन विदा हुँदै आएको थियो । पछि विदा कटौति गर्दै ५ दिन सार्वजनिक विदा दिन थालिएको हो । सोही अनुसार आइतबारदेखि सबै कर्मचारी कार्यालय आइपुग्नुपर्ने हो । तर अधिकांश सरकारी कार्यालयमा धेरै कर्मचारी अनुपस्थित रहेको पाइयो । मंगलबार दसैंपछि कार्यालय खुलेको तेस्रो दिनसम्म पनि अधिकांश सरकारी कार्यालयहरु सुनसान देखिएका छन् ।
सरकारलेनै दिएको विदाले पनि नपुगेर कर्मचारीहरु आफूखुशी विदा थपेर बस्ने गरेका छन् । कतिपय कार्मचारी सेवाग्राही नआएपछि पुनः विदामा बसेका सरकारी कार्यालयका अधिकारीहरु बताउँछन् ।
सरकारले दिएको विदा कम भएकाले कर्मचारीहरु मंगलबारसम्म पनि कार्यालय उपस्थित हुन नसकेको महालेखापरीक्षकको कार्यालयका लेखापरिक्षण अधिकृत वनमाली पौडेलले बताए । उनले भने, ‘दशमीको पर्सीपल्ट कार्यालय खुल्ने हुँदा, घर टाढा हुने कर्मचारीहरु विजया दशमीको दिन नै कार्यलय क्षेत्र फर्कन अवस्था आयो, नारिकलाई सेवा दिन धेर–थोर कर्मचारी आए पनि दसैं नसकिएकोले उनीहरु सेवा लिन आएका छैनन्् ।’
मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार पनि मंगलबार सुनसान देखियो । कोजाग्रत पूर्णीमा सकिएपछि मात्र कार्यालयमा कर्मचारी सबै आउने र सेवाग्राहीको भीड लाग्ने विगतको अनुभव रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको भनाई छ । १ सय ९ जना कर्मचारी रहेको स्वास्थ्य मन्त्रालयमा मंगलबार करिब ५० जना कर्मचारी मात्रै उपस्थित थिए ।
आईतबार र सोमबार अझै कम कर्मचारी आएका थिए भने सेवाग्राही आठ दश जना मात्र आएको उनको भनाई छ । वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘कोजाग्रहत पूर्णीमासम्म नागरिकहरु टिकाटाला र अरु काममा व्यस्त हुने भएकाले कार्यालयमा सेवा लिन आउने गरेका छैनन्, बुधबारसम्म दसैं रहेकाले बिहीबारबाट कार्यालयमा चाप बढ्ने अनुमान छ ।’

























