काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इफाप्काको बोर्डमा तीन नेपाली निर्माण व्यवसायी

15.04K
shares

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फउन्मुख भएको बताएका छन् । मलेसियाको क्वालालाम्पुरमा एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता संस्था (इफाप्का) को ४४औं सम्मेलनलाई सम्बोधन गर्दै सिंहले नेपालको अबको लक्ष्य आर्थिक समृद्धि रहेको बताए ।

नेपाल सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अवधारणासहित अघि बढिरहेको जानकारी दिँदै सिंहले समृद्ध नेपाल बनाउन निर्माण उद्योगको भूमिका महत्वपूर्ण रहने बताए । भौतिक पूर्वाधारको विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्नेमा राजनीतिक दलको पनि पूर्ण साथ रहेको उनको भनाइ थियो ।

भौतिक पूर्वाधारका क्षेत्रमा विकास गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुक बनाउने तयारीमा सरकार लागेको सिंहले जानकारी दिए । आफ्नो लक्ष्यप्राप्तिका लागि सरकारले सार्वजनिक निजी साझेदारीको अवधारणालाई प्राथमिकता दिएको उनले बताए ।

यसैबीच सम्मेलनबाट इफाप्काको प्रथम उपाध्यक्षमा रमेश शर्मा र प्रस्तावित महासचिवमा जयराम लामिछाने चयन भएका छन् । महासंघका पूर्वअध्यक्ष रहिसकेका शर्मा र लामिछाने दुवै हाल महासंघका सल्लाहकार छन् ।

त्यस्तै इफाप्काको बोर्ड सदस्यमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । सम्मेलनमा सहभागी हुन महासंघ अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डल गत सोमबार मलेसिया गएको थियो । सम्मेलनमा सहभागी भएपछि नेपाली प्रतिनिधिमण्डलले मलेसियासहित सिङ्गापुर र इण्डोनेसियाकोसमेत भ्रमण गरी भौतिक पूर्वाधारका क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धिको स्थलगत अध्ययन अवलोकन गर्ने कार्यक्रम छ । इफाप्काको ४६औं सम्मेलन नेपालमा आयोजना हुँदैछ ।
रासस