एटिएफ जुुनियर टेनिस : पोखराका खड्काको विजयी सुरुवात
वि.सं.२०७५ मंसिर ३ सोमवार २३:४६
shares

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट १ र २ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सौगात खड्काले विजयी शुरुवात गरे । उनले सफल श्रेष्ठलाई ६–०, ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । त्यस्तै आफ्नो पहिलो खेलमा भारतका अचिन्ता बर्माले पनि जित दर्ता गराए । बर्माले नेपालका चिराग तिमिल्सीनामाथि ६–७, ६–४ र ६–२ को कठिन जित निकाले ।
नेपालकै इशान गुरुङले स्लोक कैसर खड्कालाई ६–४, ६–१ ले, प्रितम परियारले निहाल जंगबहादुर थापालाई ६–१, ७–६ ले, श्रेयास पौडेलले श्रीयोग अधिकारीलाई ६–३, ३–६ र ६–३ ले पराजित गरे ।
त्यस्तै राजवीर प्रधानले भारतका आयुष भारद्वाजलाई ६–०, ६–३ ले, आयुष्मान अजुर घलेले सञ्जय पहारीलाई ६–०, ६–० ले, रक्षम वीक्रम शाहले आयुष पहारीलाई ६–०, ६–३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् ।
महिलातर्फको खेलमा श्रीया भट्टराईले अद्या पौडेललाई ६–२, ६–२ ले, इशाश्री शाहले सुनिरा थापालाई ६–२, ६–२ ले तथा सुभाङ्गी लक्ष्मी शाहले प्रकृती श्रेष्ठलाई ६–४, ६–३ ले पराजित गरेकि छन् ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै गुरुङले पछिल्लो समय नेपालको खेलकुद लथालिङ्ग अवस्थामा पुगेको बताए ।
खेलकुद क्षेत्रमा देखिएको भताभुङ्ग अवस्थालाई सुधार्ने आफ्नों प्रयास हुने गुरुङको भनाई थियो । आफू यसअघि राष्ट्रिय खेलकुद परिषद्मा सदस्य भएको बेला पाएको भत्ता समेत खेलाडीलाई बाँड्ने गरेको उदाहरण प्रस्तुत गर्दै उनले यो कार्यकालमा पनि खेलाडीकै हितमा काम गर्ने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले कास्की जिल्ला टेनिस संघले निजि क्षेत्रकै सहयोगमा प्रशंशनीय कार्य गरेको बताए । टेनिस विकासका लागि आगामी दिनमा पनि सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

























