बम्जनको आश्रममा ‘हत्या भएको आशंका’
वि.सं.२०७५ पुस २२ आइतवार ०२:३३
shares

रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा नुनका खोल भेटेपछि हत्याको आशंका गरेको हो ।
आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडिएको अवस्थामा नुनका खोल भेटिएको प्रहरीले जनाएको छ । तर, मानव कंकाल वा हड्डी नभेटिएको अनुसन्धानमा खटिएका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । ‘आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटिएको छ तर त्यसमा हड्डी भने भेटिएको छैन,’ अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले भने ।
सञ्चलालका छोरा महेन्द्रले ‘बाबु खोजीपाऊँ’ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर खोजतलास सुरु गरेको हो । शुक्रबार प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो । बम्जन भने सिन्धुलीको आश्रममा छन् ।

























