सुर्खेतमा थारु संग्रहालय स्थापना हुने
वि.सं.२०७५ पुस २२ आइतवार २२:२०
shares

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा थारु संग्रहालय स्थापना हुने भएको छ । थारु जातीको संस्कृती बचाउन संग्रहालयको स्थापना गर्न लागिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष बेचुलाल चौधरीले बताए ।
कर्णाली प्रदेशका १० जिल्ला मध्ये सुर्खेतमा बस्दै आएका थारुजातीको संस्कृती तथा परम्परालाई जोगाई राख्न संग्रहालय स्थापना गर्न लागेको उनको भनाई छ ।
‘कर्णाली प्रदेशको सुर्खेतमा मात्रै थारु जातीको बसोबास छ । करिब एक हजार भन्दा बढी घरधुरी रहेका थारुको करिब ९ हजार जनसंख्या छ,’ उनले भने, ‘उनीहरुको संस्कृती जोगाउन यो संग्रहालय स्थापना गर्दैछौं ।’
करिब १४ लाखको लगानीमा वीरेन्द्रनगर ९ कालीमाटीमा निर्माण भएको संग्रहलय भवनका लागि जग्गा भने स्थानीयले दान गरेको चौधरीको भनाई छ । वि.सं. २०७१ सालबाट साना साना टुक्रे बजेटबाट संग्रहालयको भवन निर्माण गर्दै आएको बेचुलाल चौधरीले बताए ।
‘थोरै संख्यामा रहेका थारुको संस्कृती बचाउन लागेनौं भने भोली यो जातीको रहनसहन लोप भएर जान सक्छ । यसको लागी प्रदेश सरकारले खासै चासो नदेखाए पनि स्थानीय सरकारले भने केही बजेट दिएको छ,’ उनले भने, ‘प्रसिद्द् धार्मिक तथा पर्यटकीय स्थल काँक्रेबिहारको आडैमा रहेको थारु संग्रहलय अवलोकन गर्नेको ठूलै भीड लाग्ने हामीहरुले अनुमान गरेका छौं ।’
संग्रहालयमा थारु संस्कृती झल्काउने सामग्रीहरु हलो, कोदालो, कुटो, खल, ढिकी जाँतो, तथा हेल्का, जाल, धिमर, खोङ्गीया हेर्न पाइने छ । साथै थारु जातीहरुको पोशाक, गरगहना लगाएतका सामग्री जसले थारुहरुको पहिचानको संरक्षण गर्ने थारु कल्याणकारिणी सभाका सल्लाहकार जागुराम चौधरीले बताए ।
‘अहिले सम्म भवन निर्माणमा १४ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै व्यवस्थापनको लागि रकम अभाब छ । यसको लागि प्रदेश सरकारसँग माग गरेका छौं,’ उनले भने ।
प्रदेश सरकारको कर्णालीलाई पर्यटकीय हब बनाउने लक्ष्यलाई यो संग्रहालयले समेत सहयोग गर्ने सल्लाहकार चौधरीको भनाई छ । काँक्रेबिहारको आडैमा थारु संग्रहालय र थारु होमस्टे सञ्चालन भएपछि पर्यटकहरुलाई घुमेर थकान मेट्न तथा खानबस्न सहज हुने उनको भनाई छ ।

























