प्रधानमन्त्री ओली र जापानका विदेशमन्त्रीबीच भेटवार्ता
वि.सं.२०७५ पुस २६ बिहीवार १५:५५
shares

नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा आपसी हितका सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपालमा हुन लागेको लगानी सम्मेलनमा जापानी लगानीकर्ता पठाइदिन र नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश पुर्याइदिन आग्रह गरेका उनको निजी सचिवालयले जनाएको छ ।
यसअघि बुधबार विदेशमन्त्री तारोले आफ्ना समकक्षी प्रदीप ज्ञवालीसँग भेटवार्ता गरी जापानसँगको सिधा हवाई उडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
२५ वर्षअघि भएको हवाई सम्झौता गत असारमा नवीकरण गरिएको थियो । सोही सम्झौताअनुसार कूटनीतिक नोटमा हस्ताक्षर भएपछि अब जापानमा सिधा हवाई उडान गर्न बाटो खुलेको छ । सहमतिअनुसार अब नेपाल एयरलाइन्सले सातामा १४ वटा उडान भर्न पाउने छ । यस्तै नेपालले फागुनमा गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ता, व्यापारी र उद्योगी पठाइदिन जापानसँग आग्रह समेत गरेको छ । २ दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका तारो बिहीबार नै स्वदेश फर्कने छन् ।

























