दोलखाको वैत्येश्वर–४ का अध्यक्ष चौलागाईविरुद्ध अख्तियारमा उजुरी
वि.सं.२०७५ पुस २६ बिहीवार १६:४५
shares

दोलखाको वैत्यश्वर गाउँपालिका–४ का अध्यक्ष कुमार चौलागाईविरुद्ध स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । अख्तियारको दुरुपयोग गरी एम्बुलेन्स सञ्चालन कोषको १२ लाख हिनामिना गरेको आरोपसहित छानबिन गरी कारबाहीका लागि उजुरी दिएका हुन् ।
हनुमान एम्बुलेन्स सेवा समितिको नाममा जनसचेतन बचत तथा ऋण सहकारी संस्था (साकोस)मा रहेको खाताबाट जालसाँझी गरी चौलागाईले १२ लाख हिनामिना गरेको पाईएपछि कारबाहीका लागि स्थानीयहरुका तर्फबाट पोष्टबहादुर दाहालले मंगलबार उजुरी दिएका हुन् । वडाध्यक्ष चौलागाईं र सो सहकारीका केही कर्मचारीको मिलेमतोमा करिब २० वर्षदेखि कोषमा सञ्चय गरिएको मध्ये १२ लाख हिनामिना गरेको स्थानीयहरुको आरोप छ ।
वडा नम्बर ४ को लेटरप्याडमा चलानी नम्बर ४७१ मार्फत गत मंसिर ११ गते साविक काबे्र गाविस र हनुमान एम्बुलेन्स सेवा समिति नामका खातामा रहेको रकम वडाध्यक्ष चौलागाईं र सहायक कम्प्युटर अपरेटर मनिषा सापकोटाको नाममा खाता खोली उक्त रकम जम्मा गर्न संयुक्त खाता खोलीदिन जनसचेतन साकोसलाई वडाध्यक्ष आफैंले आफ्नै नाममा सिफारिस गरेको कागजात फेलापरेको छ । सो सिफारिस पत्रअनुसार नयाँ खाता खोल्ने भन्ने बुझिए पनि सहकारीको कर्मचारीसँगको मिलेमतोमा एम्बुलेन्स समितिको खाता परिवर्तन गरी एकैदिन दुईपटकमा १२ लाख हिनामिना गरिएको छ ।
बैत्यश्वर गाउँपालिकाको लेटरप्याडमा मंसिर ११ गतेको सिफारिस पत्रलाई मंसिर २५ गते ५७३ नम्बरमार्फत चलानी गरेको पाइएको छ । तर, उक्त सिफारिस पत्र वडाध्यक्ष आफैंले तयार गरेर ल्याएर गाउँपालिका अध्यक्ष छवि लामालाई एक्लै भएको मौका छोपेर सिफारिस पत्रमा सही गराए पनि त्यो लेटर प्याड नै नभएकाले त्यो पनि नक्कली भएको गाउँपालिकाका एक कर्मचारीले दाबी गरे । वडाध्यक्ष चौलागाईले गरेको क्रियाकलापको स्थानीय प्रमोद दाहालले कागजातसहित सामाजिक सञ्जाल पेसबुकमा समेत पोष्ट गरेका छन् ।
‘साविक गाविसको सम्पत्ति स्वतः गाउँपालिकाको हुन्छ,’ ती कर्मचारीले भने, ‘तर सम्पत्ति वडालाई हस्तान्तरण गर्नुपरे पनि एउटा प्रक्रिया हुन्छ तर त्यो सबै प्रक्रियालाई समेत लत्याएर सहकारीले खाता परिवर्तन गरेर भुक्तान गरेकाले सहकारीको पनि मिलेमतो हुन सक्छ ।’ वडाध्यक्ष चौलागाईं र करार कर्मचारी सापकोटाको दस्तखतलाई गाउँपालिकाद्वारा प्रमाणित नगरिएको भए पनि सोही पत्रलाई आधार मानी सहकारीले दस्तखत नमुना कार्ड परिवर्तन गरी हनुमान एम्बुलेन्स सेवाको नामको नयाँ चेक जारी गरेको पाइएको छ ।
नयाँ जारी चेकबाट वडाध्यक्ष चौलागाईंको नामबाट मंसिर २८ गते चेक नम्बर १०१५८६ बाट नौ लाख र सोही मितिमा चेक नम्बर १०१५८७ बाट तीन लाख गरी १२ लाख हिनामिना गरेको पाइएको हो । ९ लाख आफ्नै नाममा रहेको ऋण चुक्ता भएको सहकारीले प्रमाणित गरेको छ भने ३ लाख नगदै झिकेको देखिन्छ ।
तर, वडाध्यक्ष चौलागाईंले वडामा उधारो सडक खनेको केस बताउँदै गाउँपालिकाले पोहोर १२ लाख विनियोजन गरेकोमा क्रमागत बजेट भन्दै पटक–पटक आग्रह गर्दा पनि निकासा नभएपछि काम गरेको पैसा वित्तीय संस्थाले नछोड्ने भएको कारण गाउँपालिकाबाट आएको पैसा तिर्ने गरी खाताबाट पैसा निकालेर तिरेको स्वीकार गरेका छन् । तर, उनले भुक्तान गरेको सहकारीको घर निर्माण शीर्षकमा छ । उनको अहिले घरसमेत निर्माण भइरहेको स्थानीयले दाबी गरेका छन् ।
संस्थाको छाप नलगाई भुक्तानी दिइएको दुईवटै चेकमध्ये नौ लाख रकमको चेकबाट वडाध्यक्ष चौलागाईंको व्यक्तिगत ऋण भुक्तानी गरिएको उल्लेख छ । दस्तखत नमुना कार्ड प्रमाणित गर्ने सहकारीको खासै प्राक्टिसमा नभएको जनाउँदै जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले भने, ‘एकाउन्ट होल्डर नै आएर छाप पछि लगाइदिउँला भनेकाले चेकमा संस्थाको छापबिना नै भुक्तानी गरिएको हो ।’
वडाध्यक्षले सहकारीमा पेस गरेको खाता परिवर्तनसम्बन्धी निर्णयको माइन्युटको फोटोकपीसमेत तीन ठाउँमा जोडेको देखिएको छ । माइन्युटको उपस्थितिमा सदस्यहरुले गरेको सही र बन्द गरेको सही नमिलेकाले वडाअध्यक्ष आफैंले किर्ते गरेको स्वतः देखिने स्थानीयको दाबी छ । अख्तियारमा उजुरीकर्ताले छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित गाउँपालिकालाई समेत बोधार्थ दिएका छन् ।



































