विकासको बीउ रोपिसक्यौं, फल लाग्न बाँकी छ : रामेश्वर श्रेष्ठ
वि.सं.२०७५ पुस २६ बिहीवार १८:०१
shares

ललितपुरको महालक्ष्मी नगरपालिकाको काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम क्षेत्रमा पर्छ । यो नगरपालिकामा लामाटार, लुभु, सिद्धिपुर, टिकाथलीलगायतका परम्परागत सहर छन् । नगरको इमाडोल, टिकाथलीलगायतका केही स्थान सहरीकरण भइसकेका छन् भने लामाटार, लुभुलगायतका केही स्थान अलि पछाडि छन् । राजधानीनजिकैको पर्यटकीय क्षेत्र लाँकुरी भञ्ज्याङ पनि यही नगरमा पर्छ । धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ यो नगरपालिका । बहुसंख्यक नेवारी समुदायको बसोबास रहेको यो नगरपालिकामा ब्राह्मण, क्षेत्री, तामाङ र अन्य जातजातिको पनि बसोबास छ ।
महालक्ष्मी नगरपालिका सहरी क्षेत्रमा सहरी पूर्वाधार विकास गर्दै ग्रामीण क्षेत्रलाई पनि व्यवस्थित ढंगले विकासको पथमा डोहोर्याउने गरी योजनाबद्ध ढंगले लागिपरेको छ । स्थानीय निर्वाचन भएर डेढ वर्ष बित्दै गर्दा नगरका काम कारबाही कति प्रभावकारी ढंगले अघि बढेका छन् ? विकासका व्यवधान के–के हुन् ? र, आगामी पाँच वर्षको योजना के–के छन् ? यसै सन्दर्भमा नगर प्रमुख रामेश्वर श्रेष्ठसँग दशराज श्रेष्ठले गरेको कुराकानी ः
जनताले तपाईंलाई नगरपालिका बनाउने जिम्मा दिएको डेढ वर्ष बितिसकेको छ, यसबीचमा के–के काम गर्नुभयो, अब के–के गर्ने योजना बनाउनुभएको छ ?
म नगर प्रमुख भइसकेपछि शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका विकासका कामलाई तीव्र गतिमा अघि बढाएको छु । नयाँ नगरपालिका भएकाले भौतिक पूर्वाधारको चरम अभाव छ । त्यसैले विकासका लागि हाम्रासामु निकै चुनौती र व्यवधानहरु आइरहेका छन् । नगरको कुल बजेटको ८० प्रतिशत रकम भौतिक पूर्वाधारतर्फ मात्रै खर्च गर्नुपरेको छ भने बाँकी २० प्रतिशत सामाजिक क्षेत्रतर्फका लागि छुट्याएका छौं । हामी विकास निर्माणमा पनि मुख्यतः सडक विस्तार तथा निर्माणमा केन्द्रित छौं । त्यस्तै, स्वास्थ्य र शिक्षामा पनि धेरै काम गरिसकेका छौं ।
महालक्ष्मी नगरपालिकामा खानेपानीको चरम अभाव छ । दीर्घकालीन रुपमा खानेपानी समस्या समाधान गर्न हामीले केयुकेएलको सेयर नै किनेर वडा नं. १, २, ३ र ४ मा पानी वितरण गर्ने योनजा अघि बढाएका छौं । त्यसका लागि सर्भे गर्ने काम भइरहेको छ । साथै, हाल वितरण भइरहेको खानेपानीको चुस्त व्यवस्थापन गर्ने र नयाँ योजना पनि ल्याउने काम अघि बढाएका छौं । आकाशबाट आएको पानीलाई पनि जम्मा गरेर प्रयोगमा ल्याउन सक्ने बनाउने तयारी भइरहेको छ ।

कानुन र कर्मचारी अभावको समस्या झेल्नुपरेको छ कि छैन ? व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
एकदमै, यो साझा समस्या हो । नेपालको केन्द्रदेखि स्थानीय तहसम्मको कानुन बनिसकेको छैन । त्यसकारण, बाझिने सम्भावना रहेकाले हामीले पनि आवश्यक पर्ने सबै कानुन निर्माण गर्न सकिरहेका छैनाैं । त्यसो भन्दैमा काम नै रोकिएको छ भन्ने होइन । कानुन अभावलाई चिर्दै हामी नगरबासीलाई सेवा प्रवाह गरिरहेका छौं । आवश्यक कानुन बनाएर अघि बढिरहेका छौं । हामीसँग जनशक्तिको पनि चरम अभाव छ । अहिले हामीसँग दुईजना इन्जिनियरमात्रै छन् । त्यसैगरी प्रशासनतर्फ पनि जनशक्ति अभाव छ । हामीले न्यूनतम जनशक्तिबाट अधिकतम काम गरिरहेका छाैं । आर्थिक अभाव पनि रहेकाले जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको छ ।
सडक निर्माणमा ढिलाइ हुनुको मुख्य कारण के हो ? नगरबासीले अझै कहिलेसम्म धुलोको सास्ती खेप्नुपर्ने हुन्छ ?
ग्वार्को–लामाटार सडक केन्द्रीय सरकारको बजेटबाट बन्ने सडक हो । यो सडक विस्तारमा केही हदसम्म ढिलासुस्ती भएको होला तर पहिलेको तुलनामा हेर्ने हो भने अहिले ढिलो भएको छैन । मानिसको चापलाई ध्यानमा राखेर हामीले तीनवटा यातायात सञ्चालनमा ल्याएका छाैं । सवारीसाधनको चापलाई हेरेर सडकको विस्तार कार्य भइरहेको छ । भौतिक पूर्वाधारको अभावमा विस्तारको काम ढिलो हुन गएको हो, तैपनि हामीले ठेकेदारहरुलाई प्रेसर दिएर अबको एक–दुई महिनाभित्र २१ सय मिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि महालक्ष्मी नगरपालिकाले के गरिरहेको छ ?
पहिलो त हामीले औषधि अभाव हुन दिएका छैनौं । सरकारले निःशुल्क प्रदान गर्ने औषधि र नगरले अन्य औषधि थप गरेर चारवटै स्वास्थ्यचौकी र एउटा पब्लिक हेल्थ सेन्टर (पिएचसी) मा औषधि अभाव हुन दिएका छैनाैं । अर्काे काम भनेको हामीले स्वास्थ्यचौकीमा रहेका कर्मचारीको सीप र क्षमता वृद्धि गर्नका लागि समय–समयमा तालिम तथा प्रशिक्षणको व्यवस्था गरेका छौं । त्यसैगरी, सबै वडामा हरेक महिना घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौं ।
अर्काे कुरा, हामीले किस्ट हस्पिटलसँगको समन्वयमा विशेषज्ञ सेवा पनि प्रदान गरिरहेका छाैं । नगरका सबै नागरिकलाई किस्ट हस्पिटलमा जुनसुकै रोगको उपचारमा पनि १५ प्रतिशत छुट हुने व्यवस्था मिलाएका छाैं । सबै फार्मेसी पनि व्यवस्थित गरेका छाैं । नियमित खोप सेवा पनि प्रदान गर्दै आएका छाैं । सबै स्वास्थ्यचौकीमा २४सै घण्टा सुत्केरी सेवा प्रदान गर्दै आएका छाैं । अब स्वास्थ्य बिमाको कार्यक्रम प्रभावकारी ढंगले अघि बढाउने तयारीमा छाैं ।

पार्किङ व्यवस्थापनमा धेरै स्थानीय तहले काम गर्न सकेका छैनन्, तपाईंको नगरपालिकाले चाहिँ के गरिरहेको छ ?
पार्किङ समस्या हाम्रो नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती हो । हामीसँग पार्किङका लागि सरकारी जग्गा छैन र जग्गा निकै महँगो छ । त्यसकारण निजी जग्गा किनेर पार्किङ स्थल बनाउन सक्ने क्षमता पनि छैन । यो समस्या न्यूनीकरण गर्न हामीले मालबाहक ठूला सवारीसाधनलाई चाहीँ पार्किङस्थल तोकेर निश्चित समयावधिका लागि पार्क गर्ने व्यवस्था मिलाउने तयारी गरेका छाैं । अन्यथा, नागरिकले सडकको किनारमा पार्किङ गर्नुको विकल्प छैन ।
नगर प्रोफाइल बनाउनुभयो ?
हाम्रो नगरपालिका नयाँ भएका कारण हालसम्म नगर प्रोफाइल बनाएका छैनौं । नगर प्रोफाइल बनाउन निकै खर्च लाग्ने भएकाले तत्काल सम्भव पनि छैन । तर, केही वर्षभित्रै नगर प्रोफाइल बनाउनेछाैं ।
भूकम्पले भत्काएका धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणले किन गति लिन सकेन ?
हामीले महालक्ष्मी नगरपालिकाका धार्मिक र सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सक्दो पहल गरिरहेका छौं । सिद्धेश्वर, टिकेश्वर, बौद्ध स्तुपा, कृष्ण मन्दिरलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदालाई सरकारले राष्ट्रिय सम्पदामा समेटेको छैन, त्यसकारण पनि पुरातत्व विभागले निर्माण गरेन । यसलाई राष्ट्रिय सम्पदाका रुपमा राख्न पत्राचार गरेका छाैं । अब हामी सक्नेजति निर्माणको काम सुरु गर्ने योजनामा छौं । बोझेपोखरीको जग्गामा विवाद आएकाले हामीले निर्माण कार्य सुरु गर्न सकेका छैनाैं । छिट्टै विवाद सुल्झाएर आकर्षक पोखरी बनाउने योजनामा छौं । लाकुरी भञ्ज्याङ जस्ता पर्यटकीय क्षेत्रलाई पनि व्यवस्थित बनाउँछौं ।

लाकुरी भञ्ज्याङमा पिकनिक जानेहरुबाट ठूलो मात्रामा पैसा उठाउने गरिएको छ, तर नगरपालिकाले त्यो क्षेत्रको व्यवस्थापनमा किन चासो नदिएको होला ?
लाकुरी भञ्ज्याङ जानेहरुसँग कसले पैसा उठाउँछ, त्यो हामीलाई जानकारी छैन । तर, यसलाई पर्यटकीय क्षेत्र बनाउन हामी योजना बनाएर जुटिसकेका छौं । यसको व्यवस्थापनका लागि गुरुयोजना बनाएर ५० लाख नगरपालिकाले र ३० लाख प्रदेश सरकारले गरी ८० लाख बजेट विनियोजन गरेका छाैं । अब छिट्टै काम सुरु गर्छौं ।
महालक्ष्मी नगरपालिकालाई सुन्दर बनाउने मुख्य योजना के छ ?
नगरलाई सुन्दर बनाउने भनेकै शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युतलगायतका विकासका पूर्वाधारले नै हो । यी क्षेत्रको विकास गर्नसके नगर सुन्दर बन्छ । काम पनि सुरु भइसकेको छ । शिक्षा क्षेत्रमा पनि उल्लेख्य परिवर्तन ल्याएका छाैं । विगत र हालको तथ्यांकलाई हेर्ने हो भने १५ प्रतिशतले शैक्षिक स्तरमा सुधार आएको छ । सामुदायिक विद्यालयको विद्यार्थी भर्नामा पनि वृद्धि भएको छ । हामीले यसै वर्षमात्र तीनवटा प्राविधिक विद्यालय सञ्चालनमा ल्याएका छौंं भने ११ र १२ कक्षामा विज्ञान विषयको विद्यालय सञ्चालनमा आएको छ । तर, दुर्भाग्य भनौं, पढ्ने विद्यार्थी कोही पनि नआएका कारण विनियोजित बजेट फ्रिज भयो ।
नमुना नगर बनाउने भावी योजना के–के छन् ?
हाम्रो नगरपालिकामा तीन प्रकारका बस्ती रहेकाले यसलाई नमुना नगर बनाउन त्यति सजिलो छैन । पहिलो किसिमको बस्ती पूर्ण सहरीकरण भएको, दोस्रो सहरोन्मुख र तेस्रो ग्रामीण परिवेशको बस्ती । यी सबैलाई समेटेर बस्तीको प्रकृतिअनुसार पूर्वाधार परिचालन गर्नुुपर्ने भएकाले चुनौती निकै छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, ढल जस्ता विकास निर्माणका काम भएमा नगर नमुना बन्न सक्छ । हामीले ढलका लागी ३ अर्बको डिपीआर तयार गरेर ओजना अगाडि सारेका छौं । तर, नगरको बजेटले त्यो काम गर्न सक्दैन, केन्द्र सरकार र प्रदेश सरकारले बजेट दिएका छैनन् ।
चुनावका बेला जनतासँग गरेका प्रतिबद्धताअनुसार नै काम गरिरहनुभएको छ ?
हामीले जनतालाई चुनावका बेला गरेको प्रतिबद्धताअनुसार नै काम गरिरहेका छाैं । चुनावका बेला हामीले सडक विस्तार गर्छाैं भनेका थियौं, त्यो काम गरिरहेका छाैं । अब एक वा दुई महिनाभित्र कृष्णमन्दिरदेखि अगाडि २१ सय मिटरको बाटोको निर्माण पूरा गर्नेछौं । शैक्षिक क्षेत्रमा स्तरोन्नति गर्छाैं भनेका थियाैं, त्यो पनि नतिजाले देखाइसकेको छ । स्वास्थ्यमा पनि सुधार गर्छाैं भनेका थियाैं, त्यसको पनि उपलब्धि देखिसकेको छ । हामीले चुनावका बेला रोशी खोलाको पानी ल्याएर वितरण गर्छाैं भनेका थियाैं तर त्योचाहिँ सर्भे गरेर हेर्दा ल्याउन नसकिने भएकाले पूरा गर्न सकेनौं । यही एउटा काम हो हामीले गरेको प्रतिबद्धता जनाएर गर्न नसकेको ।
तर, नगर क्षेत्रमा भएका भौतिक पूर्वाधार निर्माणको कामप्रति जनता त त्यति सन्तुष्ट देखिँदैनन् नि !
अहिले हामीले विकासका विजमात्रै रोपेका छाैं, यसको फल फलेको छैन र देखिएको छैन । त्यसकारण पनि जनता असन्तुष्ट भएका होलान् । तर, असन्तुष्टै हुनुपर्ने बेला भने भएको छैन । पहिले नै भनेको छु कि महालक्ष्मी नगरपालिका नयाँ नगरपालिका हो । त्यसकारण पनि हामीसँग पर्याप्त पुँजी, भौतिक पूर्वाधार तथा आवश्यक जनशक्ति छैन । नगरबासीले अन्य नगरसँग तुलना गरेर हेर्नुभयो होला । त्यसकारण पनि उहाँहरु असन्तुष्ट देखिनुभएको हुन सक्छ । नगरपालिकाले जनसंख्या र भौगोलिक क्षेत्रफलका आधारमा केन्द्रले बजेटको विनियोजन गर्ने भएकाले पनि हाम्रो नगरपालिकामा कम बजेट आउने गर्छ । किनभने, २०६८ को जनसंख्यालाई हेर्ने हो भने ६१ हजारमात्रै छ । तर हालको जनसंख्या भने करिब तीन लाख छ । त्यसकारण पनि नगरको विकासमा आएको बजेटले सबै काम गर्न र नतिजा देखाउन सम्भव छैन ।
पाँच वर्षभित्र नगरपालिकालाई कस्तो बनाउनुहुन्छ ?
पाँच वर्षभित्र नगरपालिका कस्तो बन्छ भन्दा पनि विकास निर्माणको कामले भने मुर्त रुप पाउनेछ । जनताको माग र आवश्यकतालाई परिपूर्ति गर्ने संकल्प राखेका छौं । मेरो कार्यकालमा जनताले प्रत्यक्ष रुपमा देख्न पाउने र महसुस गर्ने गरी विकासका काम धेरै हुन्छन् । नगरपालिकाको आफ्नै भवन हुनेछ भने सडक विस्तारको कामले पूर्णता पाउनेछ । यस्ता धेरै कामका आधारमा जनताले मलाई विश्वास गर्नेछन् र गरिरहन्छन् ।
(तस्बिर ः सुनिल प्रधान)



























