जनकपुरकी पत्रकार उमा सिंह हत्याको एक दशक पूरा
वि.सं.२०७५ पुस २७ शुक्रवार २२:५०
shares

नेपाली पत्रकारिता जगतकी एक साहसिक, कर्मठ, इमान्दार पत्रकार उमा सिंह हत्याको एक दशक पूरा भएको छ । वि.सं. २०६५ साल पुष २७ गते साँझ करिब साढे ७ बजे जनकपुरको रजौलस्थित आफ्नै डेरामा पत्रकार सिंहको धारिलो हतियार प्रहार गरि विभत्स तरिकाले हत्या गरिएको थियो ।
जनकपुरस्थित रेडियो टुडे र जनकपुर टुडेमा कार्यरत २५ वर्षीय पत्रकार सिंह महिलाहरु घरमै र घुम्टोभित्र बस्नुपर्छ भन्ने पुरातन मान्यतालाई चुनौति दिँदै पत्रकारितामा सक्रीय थिइन् । सञ्चारजगतमा आएर निर्भीक पत्रकारिता गरिरहेकी सिंहको हत्या हुनु पत्रकारिता जगतमाथिको आक्रमण हो भन्दा अतिसयोक्ति नहोला । हो उनै पत्रकार सिंहलाई नेपाली पत्रकारिता जगतले गुमाएको १० वर्ष पूरा भएको छ ।
महिलाको गौरव भएर पत्रकारितामा स्थापित हुँदै गरेकी सिंह हत्याको घटना अझै आफ्नो मानसपटलबाट नहटेको बताउँछिन् जनकपुरमा रहेर पत्रकारिता गरिरहेकी रिंकु कुमारी मिश्र ‘गायत्री’ । गायत्री हाल नेपाल पत्रकार महासंघ प्रदेश-२ की उपाध्यक्ष र मिथिलाञ्चल एफ एमलगायतका सञ्चार मध्यममा आवद्ध छिन् ।
‘मैले अहिले पनि सिंहले जस्तो खोज, अनुसन्धानमुलक पत्रकारिता गर्न सकेको छु जस्तो लाग्दैन,’ रिंकु भन्छिन्, ‘तर जब साँझ पख लाइन काटिन्छ अनि मेरो शरीरको रौं कडा भएर आउँछ अनि उही पुष २७ गतेको कालो रात्रिकालीन घटना र उमा दिदीको घटना सम्झना आउँछ ।’
रेडियो टुडेमा उमासिंहसँग सँगै काम गरेकी गायत्री साँझको कार्यक्रम सकेर घर फर्कँदा लोडसेडिङ हुँदा जीउ सिरिङ्ग हुने गरेको बताउँछिन् । ‘त्यस्तो बेला मलाई कसैले पछ्याइरहेको त छैन ? भनेर झसँग हुन्छु,’ उनले न्युज कारोबारसँग भनिन् । सिंहकै कारण आफू पत्रकारितामा रहेको र कार्यक्रम प्रस्तोता हुँदै सामाचारमा काम गरिरहेको बताउँदै उनले भनिन्, ‘फिल्डमा गएर सामाचार संकलन गर्न पनि मलाई उहाँकै प्रेरणाले काम गरिरहेको छ ।’ सिंहलाई उनी अभिभावकका रूपमा मान्ने गरेको सगौरब बताउँछिन् । रिंकु भन्छिन्, ‘१० वर्षको अन्तरालमा जनकपुरमा निकै परिवर्तन भएको छ । अवस्था फेरिएको छ तर पुष २७ गते रातिको घटनाको झ झल्को भने मेरो मानस पटलबाट हटेको छैन ।’
त्यस्तै नेपाल पत्रकार महासंघ धनुषाकी उपाध्यक्ष मनिका झा सिंहको हत्या हुँदा आफू कक्षा ११ मा पढ्दै गरेको बताउँछिन् । ‘उहाँको हत्या हुँदा म कक्षा ११ मा पढ्दै थिएँ, सँगै यहीको एक एफएममा पनि काम गर्थेँ,’ अन्नपूर्ण पोष्ट दैनिकको प्रदेश-२ की ब्युरो प्रमुख झा भन्छिन्, ‘त्यतिबेला म धेरै डराएकी थिईँ, उमा दिदी म भन्दा सिनियर हुनुहुन्थ्यो, उहाँले हामीलाई खोज पत्रकारीता गर्न हौस्याउनुहुन्थ्यो ।’

त्यसबेला जनकपुरमा महिला पत्रकारहरूको संख्या न्यून थियो । तर, सिंह त्यसैबेला अब्बल पत्रकारकारका रूपमा परिचित भइसकेकी थिइन् । सिंहको जुझारु र सक्रिय पत्रकारिता देखेर आफूहरु पनि त्यसैको अनुसरण गर्दै अगाडी बढेको झाले बताइन् । पुष २७ गते साँझको घटना सम्झदा भावुक बनेकी मनिका भन्छिन, ‘हामीले निकै ठूलो अभिभावक गुमाएका छौं । उहाँ हुनुभएको भए अहिले निकै चर्चित, स्थापित र योग्य पत्रकारको रुपमा चिनिनुहुन्थ्यो ।’
‘घटना पश्चात प्राथमिक उपचारको लागि केयर मेडिकल मिल्स एरियामा भर्ना गरिएको थियो,’ झाले त्यसबखतको घटना सम्झँदै भनिन्, ‘उहाँको शरीर भरी २२ ठाउँमा गहिरो खत परेको थियो । २२ ठाउँमा काटिएर रगतमा लतपतिएकी उनी भेट्न जाँदा मलाई कसले किन यसरी गर्यो ? मेरो के गल्ती थियो ? मैले कसको के विगार गरेकी थिए जस्ता प्रश्न गर्दै हुनुहुथ्यो, तर उत्तर पाउँन सक्नुभएन ।’ रगत अभावमा उनलाई काठमाडौं रेफर गरिएको उनले बताइन् ।
सिंहको हत्यापछि जनकपुरका पत्रकारहरूमा भयको सञ्चार भयो । ‘त्यसपछि पत्रकारिता निकै चुनौतिपूर्ण पेशा हो भन्ने महसुस हुन थाल्यो,’ पत्रकारहरू अझै भन्छन् । कतिपय पत्रकारलाई सिंहको हत्यापछि पत्रकारित छाड्न घरबाट दबाब आउन थाल्यो ।
हत्याको अभियोगमा भाउजु ललिता र प्रेमीसहित जेलमा
सिंह हत्याको करिब ७ वर्षपश्चात लामो अध्ययन र अनुसन्धानपछि मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्यो । सशस्त्र समूहमा लागेका यादव पक्राउ परेलगतै सिंह हत्यामा उनकी आफ्नै भाउजु ललिता सिंह, भतिजा अभिषेक सिंह लगायतको नाम आयो ।
वि.सं. २०६८ जेठ २६ गते जिल्ला अदालतले स्वामी भनिने उमेश यादव, उमाकी भाउजु ललिता सिंह, नेमलाल पासवानलाई जन्म कैदको फैसला सुनायो । फैसलापछि उनीहरू अहिले जलेश्वर कारागारमा कैदी जीवन विताइरहेका छन् । तर उमाकी भाउजु ललिता देवी भने गत वर्ष गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी पाइ छुटिसकेकी छिन् । सिंह हत्याकाण्डमा थप व्यक्तिहरुको नाम मुछिएको छ भने केही अहिले पनि अनुसन्धानकै क्रममा रहेका छन् ।
सिंहको हत्या हुनु केही समयपहिले मात्रै उनको विहेको कुरा चलेको थियो । उमाकी आमा सुशीला देवी सिंहले केही जग्गा उमाकै नाममा गरिदिने सोचमा थिइन् तर भाउजु ललितालाई सो कुरा मन परेको थिएन । जसका कारण घरमा पटक-पटक विवाद हुँदै आएको थियो ।
बाबु रञ्जित सिंहले केही जग्गा उमाको नाममा पास गरिसकेका थिए । जग्गा आफ्नो नाममा एकलौटी गर्न भाउजु ललिताले आफ्नो नजिक भएका तत्कालीन तराई एकता परिषदका केन्द्रीय अध्यक्ष स्वामीजी भन्ने उमेश यादव र परिषदकै सदस्य नेमलाल पासवान तथा अन्य व्यक्तिको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उमाको सम्झनामा जनकचौकमा श्रद्धाञ्जलीसभा
पत्रकार सिंहको सम्झनामा नेपाल पत्रकार महासंघ धनुषा शाखाले शुक्रबार साँझ जनकचौकमा स्मृतिसभाको आयोजना गर्ने भएको छ । जनकपुरको जनकचौकमा साँझ साढे ४ बजे श्रद्धाञ्जलीसभाको आयोजना गर्दै उनको सम्झनामा दीप प्रज्वलन गर्दै उनको आत्माको शान्तिको कामना गर्ने कार्यक्रम रहेको आयोजक गरेको नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष धर्वेन्द्र झाले जानकारी दिए ।

























