शिक्षा दिवसको अबसरमा कर्णालीका सबै जिल्ला कारागारमा पुस्तकालय
वि.सं.२०७५ माघ १ मंगलवार ००:४८
shares

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा फाल्गुन १२ गते शिक्षा दिवसको अवसर पारेर पुस्तकालय स्थापना गरिने भएको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहका अनुसार कर्णालीका १० वटै जिल्लामा कारागारलाई किताब अभियानको उपसमिति गठन गरिएको छ ।
प्रत्येक जिल्ला प्रहरी कार्यालयका प्रमुख संयोजक हुनेगरी गठन गरिएको उपसमितिमार्फत प्रदेशका सबै जिल्ला कारागारमा शिक्षा दिवसको अबसर पारेर पुस्तकायलय स्थापना गर्न लागिएको डिआइजी शाहले बताए ।
‘हामीले शिक्षा दिवसको अबसर पारेर कर्णालीका सबै जिल्ला कारागारमा पुस्तकालय स्थापना गर्न लागेका छौं,’ शाहले भने, ‘त्यसका लागि प्रत्येक जिल्ला प्रहरी कार्यालयका प्रमुख संयोजक हुनेगरी उपसमितिको प्रक्रिया पनि अगाडि बढेको छ ।’
पुस्तक पढेर जीवनमा केही सिक्ने र समय बिताउन समेत मद्दत पुग्ने भएकोले यो अभियान सुरु गरिएको उनले बताए । ‘हामीले कारागारलाई किताब अभियान समितिका प्रत्येक व्यक्तिहरुलाई एकएकवटा जिल्लाको जिम्मा पनि दिएका छौं,’ शाहले भने, ‘जसले यो अभियानमा सहजीकरण गर्न सजिलो हुनेछ ।’
कारागारलाई किताब अभियानको जिल्ला प्रतिनिधीको रुपमा सुर्खेतमा शुसीला श्रेष्ठ, दैलेखमा ज्योती कटुवाल, कालीकोटमा दुर्गा गाहा, जुम्लामा प्रतिमा परियार, हुम्लामा सीता वली, मुगुमा ओमप्रकाश थापा, डोल्पामा कमल भुषाल जाजरकोटमा यज्ञ खत्री, सल्यानमा लक्ष्मी भण्डारी र रुकुम पश्चिममा निर्मला खत्री छन् ।
कारागारलाई किताब अभियान समितिका यी सदस्यहरुले प्रत्येक जिल्लामा के कती गतिविधि भएको छ भन्ने विषयमा जानकारी राख्ने काम गर्ने डिआइजी शाहले बताए ।
पुस्तकालय स्थापनाका दिन प्रत्येक जिल्लामा लेखक तथा साहित्याकारहरुलाई समेत निमन्त्रणा गरिने बताइएको छ । पुस्तकालय स्थापनापश्चात पनि यो अभिायन निरन्तर अगाडि बढ्ने शाहको भनाइ छ ।

























