पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान
वि.सं.२०७५ माघ १ मंगलवार १५:०९
shares

रामपुर नगरपालिका–७ को बाहुन डाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवको लोस्दीमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ बााहुनडाँडाबाट किसानबारी खेलमैदानमा र सिलुवाको लोस्दीबाट मटेरी ठूलोटारमा अवतरण गराइएको थियो । गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाइडिङ उडान परीक्षण गरिएको हो ।
यसअघि सुनुवारले २६ जिल्लामा प्याराग्लाइडिङ उडान गरिसकेका छन् । ‘नयाँ ठाउँ खोजी गर्दै जाँदा बाहुनडाँडा र सिलुवाको लोस्दी सम्भावनायुक्त ठाउँ देखियो, त्यसैले उसैलाई छनोट गरिएको हो,’ उनले भने । उनका अनुसार यो ठाउँमा एक हजार २६६ मिटर उडेर लगभग तीन हजार मिटर माथिसम्म जान सकिने सम्भावना छ ।
प्याराग्लाइडिङको सफल परीक्षणपछि रामपुरबासी दंग परेका छन् । अब पर्यटकको संख्या बढ्ने र गाउँको आर्थिक स्थितिमा सुधार आउने उनीहरुको आसा छ ।

























