समायोजनका लागि ७३ हजार कर्मचारीको आवेदन
वि.सं.२०७५ माघ २ बुधवार १७:०१
shares

७३ हजार ३ सय ३० कर्मचारी समायोजनका लागि इच्छुक देखिएका छन् । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन उनिहरुले अनलाइन फाराम भरेका छन् ।
निवेदनको म्याद बुधबार सकिँदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ६२ हजार ४६ जनाको फाराम दर्ता भइसकेको छ भने ११ हजार २ सय ८३ जनाको फारम सफ्टवेयरमा पोस्ट हुन मात्रै बाँकी छ । बुधबार राति १२ बजेसम्म कर्मचारीले फारम पोस्ट गर्न सक्नेछन् ।
समायोजन अध्यादेशले वृत्ति विकासमा बाधा पुग्ने भन्दै कर्मचारी आन्दोलित भएपछि सरकारले संघीय निजामती कर्मचारी ऐनमा माग समेट्न तयार भएको थियो । सरकारको लचकतापछि समायोजन प्रक्रिया सहज भएको हो । परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका करिब ४ हजार कर्मचारी भने संघीय सरकार मातहतमा रहने भएकाले समायोजन प्रक्रियामा जानु पर्दैन ।
सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । सोहीअनुसार कर्मचारी समायोजन हुने मन्त्रालयले जनाएको छ ।

























