मापदण्डविपरित बनेको होटलको उपराष्ट्रपतिद्वारा उद्घाटन
वि.सं.२०७५ माघ ३ बिहीवार ००:१८
shares

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पोखरामा निर्माण भएको एक होटलको उद्घाटन गरेका छन् । उपराष्ट्रपति पुनले उद्घाटन गरेको उक्त होटल भने मापदण्डविपरित निर्माण भएको पाइएको छ ।
पोखराको बुद्धचोकमा मापदण्ड विपरित हालै निमार्ण भएको १० तले होटल टाक्स इन्टरनेसनलको बुधबार पन्चे बाजासहित उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।
पोखरामा हालसम्म वैधानिक रुपमा तीन तले अर्थात ३५ फिटसम्म उचाईका घर तथा होटल एवं भवनहरु मात्र निर्माण गर्न पाइन्छ । तर, उक्त होटल उक्त मापदण्डबाहिर छ । सोही होटलको उपराष्ट्रपतिले उद्घाटन गरे । जसका कारण पोखरेलीहरू अचम्मित भएका छन् ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल विद्यमान कानुन विपरित कुनै पनि संचरना निमार्ण हुनु सामाजिक अपराध भएको बताउँछन् । ‘उपराष्ट्रपति जस्तो व्यक्तिले मापदण्डविपरितका कुनै पनि संरचना निमार्णमा प्रस्रय दिने गरी उद्घाटन गर्नु हुँदैन,’ पौडेलले भने, ‘मापदण्डविपरित निर्माण भएका संरचनाको उद्घाटन गर्नु राम्रो भएन ।’
उक्त होटलको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, कास्कीका प्रहरी प्रमुख ओम बहादुर राना लगायतका पदाधिकारीहरुको सहभागिता थियो ।
उद्घाटनका क्रममा उपराष्ट्रपति पुनले छरिएर रहेको पूँजीलाई सही ढंगले परिचालन गर्न सके देशको आर्थिक विकास र समृद्धिमा सहयोग पुग्ने बताए । उनले पर्यटन, कृषि, जलविद्युत र जडिवुटी नेपालको आर्थिक विकासको मुख्य चार आधार रहेको उल्लेख गरे ।
‘नेपालमा पर्यटनको संरचना निकै थोरै संख्यामा छन्, होटल टाक्स जस्ता ठूला ठूला, तारे होटलहरु निर्माण हुनुपर्छ,’ उपराष्ट्रपति पुनले भने ।
कृषिलाई औद्योगीकरण र मेसिनीकरण गर्दै छरिएर रहेको पूँजीलाई सही ढंगले परिचालन गर्न सक्ने दक्ष जनशक्तिमार्फत लगानी गर्नुपर्नेमा उनको जोड थियो । क्षमतालाई मेसिनरी मार्फत उद्योग धन्दा तथा व्यवसायमा प्रयोग गर्दा त्यसबाट धेरै फाइदा लिन सकिने उपराष्ट्रपतिले बताए ।
गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले होटल तथा पर्यटन व्यवसायीहरुले मुनाफा भन्दा पर्यटकहरु पुनः आउने गरी गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । उनले फेवाताल नजिक मात्र होटल बन्नु पर्छ भन्ने मान्यतालाई होटल टाक्सले फरक ढंगले प्रस्तुत गरेको जनाए ।
होटल संचालक मीन गुरुङले भूकम्प जाँदा होटलको जग हाल्न थालेको तथा भूकम्प दिवसको अवसरमा ४ वर्षपछि होटल सञ्चालनमा ल्याउन सफल भएको बताए । होटलको सुरुमा जनता बैंकले बैंकिङ पार्टनरको रुपमा रहे पनि पछि एनआईसी एसिया, भिजन सहकारी, सिद्धार्थ तमु सहकारी लगायतका संघ संस्था र केही व्यक्तिको साथले निर्माण सम्पन्न गरेको उनले जानकारी दिए ।
१८ करोड लगानीमा सञ्चालनमा आएको होटलमा ३२ वटा कोठा रहेको सञ्चालक गुरूङले बताए । प्रतिकोठा ५ हजार मूल्य रहेकोमा उद्घाटनको अवसरमा ३ हजार ५ सयमा उपलब्ध गराउने गुरुङले जानकारी दिए ।
विगत १८ वर्षदेखि टाक्स फोर्स इन्टरनेसनलमार्फत लाहुरे ट्रेनिङ गराउँदै आएका थिए भने विगत दुई वर्षदेखि लेकाली चुल्हो सञ्चालनमा ल्याएका थिए । १० तला रहेको होटल वुटिङ संरचनामा, विभिन्न प्रकृति, संस्कृतिसँग जोडेर तला र कोठाहरुको संरचना निमार्ण गरेको उनले बताए ।
पोखरा महानगरपालिकाले पोखरा क्षेत्रको भूवनोटको आधारमा हालसम्म तीन तला वा ३५ फिटसम्म कुनै घर तथा भवन निमार्णको मान्यता दिएको छ । उक्त मापदण्ड भन्दा माथिका गगनचुम्बी भवन विभिन्न व्यक्ति तथा संस्थाहरुले महानगरपालिकालाई चुनौती दिँदै धमाधम निमार्ण गरे पनि महानगर मौन छ ।
पोखरा महानगरका सूचना अधिकृत गंगालाल सुवेदीले पोखरामा मापदण्डविपरित धेरै भवन तथा होटलहरु निर्माण भए पनि नियमन गर्न नसकेको बताए । ‘पोखरामा हालसम्म ३ तला अर्थात ३५ फिट भन्दा माथिका घर तथा भवनहरु निर्माण भए सबै महानगरको दृष्टिमा अवैधानिक हुन्,’ सुवेदीले भने ।
महानगरपालिकाले गरेको व्यवस्थाविपरित हुने गरी निर्माण भएको होटल तथा गगनचुम्बी भवनमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नु अर्को चुनौति देखिन्छ ।

























