सुर्खेतबाट पुनः श्रम स्विकृती सुरू
वि.सं.२०७५ माघ ६ आइतवार २०:०९
shares

वैदेशिक रोजगारीमा एकपटक गइसकेका र घरबिदामा आएकाहरुका लागि आइतबारदेखि सुर्खेतमै पुनः श्रम स्विकृती शुभारम्भ भएको छ ।
आइतबार श्रम तथा रोजगार कार्यालय सुर्खेतले पुनः श्रम स्विकृतीको शुभारम्भ गरेको हो । पुनः श्रम स्विकृतीका लागि अनलाइन फर्म पनि भर्न सकिने कार्यालयले जानकारी दिएको छ ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतमा अन्य नयाँ श्रम स्विकृतीको कामका लागि केही समय लागे पनि पुनः श्रम स्विकृतीको काम भने आइतबारदेखि सुरु हुने कार्यालयका प्रमुख श्यामकृष्ण आचार्यले बताए ।
‘पुनः श्रम स्विकृतीको काम मात्रै हामीहरुले कार्यालयमा आजैका मितीबाट गर्नेछौं । नयाँ श्रम स्विकृतीको काम बिस्तारै शुभारम्भ हुनेछ,’ आचार्यले भने ।
पुनः श्रम स्विकृतीको लागी बिमा तथा कल्याणकारी कोषको १५ सय बाहेक कुनैपनी रकम नलाग्ने आचार्यले जानकारी दिए । ‘पछिल्लो समय विभिन्न रोजगारीको बाहानामा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु ठगिने गरेका छन्,’ उनले भने, ‘त्यसका लागि कार्यालयको वेबसाइट (WWW.dofe.gov.np) मा गएर सम्पूर्ण कुराको जानकारी प्राप्त गरी ठगीनबाट बच्न सकिने छ ।’
आफ्नो श्रम स्विकृती भए नभएको जानकारी, आफू रोजगारीका लागि जान लागेको कम्पनीले कामको आह्वान गरे नगरेको र पठाउँन लागेको मेनपावर कम्पनीले पनि आव्हान गरेको कामको सत्यताबारे जानकारी प्राप्त गर्न सकिने कार्यालयले जानकारी दिएको छ ।

























