काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चानचुन छैन भन्दै उपभोक्ताबाट करोडौं ठगी

15.83K
shares

सार्वजनिक सवारीसाधन माइक्रोबस, बसलगायतले ‘चानचुन छैन’ भन्दै यात्रु ठगी गरिरहेको वर्षौं बितेको छ । चानचुन भइभई नदिएर ठग्छन् कि नभएर नदिएर ठग्छन् न सरकारले मतलब गर्छ न त यात्रुले नै । तर, भाडा १४ भए पनि, १३ भए पनि १५ रुपैयाँ नै लिन्छन् र मज्जाले ठगी गर्छन् । फिर्ता माग्दा कन्डक्टरको गैरजिम्मेवार जवाफ आउँछ– चानचुन छैन ।

जामको तनाव छिचोल्दै बल्ल गन्तव्यमा पुगेका यात्रु एक–दुई रुपैयाँका लागि कन्डक्टरसँग झगडा गरिरहनुभन्दा चुपचाप बाटो लाग्छन् । कसै–कसैले एक–दुई रुपैयाँ दबाब दिएर भए पनि फिर्ता माग्छन् । तर, बसभित्रका यात्रुको उल्टै आफ्नो पैसा फिर्ता माग्नेको विपक्षमा उभिन्छन् । पैसा फिर्ता नगरेर ठगी गर्ने कन्डक्टर होइन, यात्रुलाई नै ‘के एक–दुई रुपैयाँमा किचकिच गरि’रा होला’ भन्ने दृष्टिले हेर्छन् । फलतः कन्डक्टरलाई ठगीमा थप प्रोत्साहन मिल्छ । चानचुन बोक्नुपर्छ र एक–दुई रुपैयाँ पनि फिर्ता गर्नैपर्छ भन्ने चेत उसमा कहिल्यै आउँदैन, आएन ।

हामी पसलमा सामान किन्छौं । एक–दुई रुपैयाँ फिर्ता गर्नुभन्दा पसलेले चकलेट या चुइँगम थमाइदिन्छन् । सामानको मूल्य पनि ३८ रुपैयाँ भए ४० र ६७ रुपैयाँ भए ७० नै लिन्छन् । प्रतिकिलो ४० रुपैयाँको तरकारी एक पाउ किन्नुभयो भने १० रुपैयाँ लिन्छन् (काठमाडौंमा दुई सय ग्रामको एक पाउ हुन्छ) । औषधि फार्मेसीबाट पनि मनपरी मूल्य असुली हुन्छ । उनीहरु पनि एक–दुई रुपैयाँ फिर्ता गर्नुभन्दा हनिटस फिर्ता गर्छन् ।

बजारमा पेट्रोलियम पदार्थको मूल्य पैसामा तोकिन्छ (उदाहरणका लागि १०५ रुपैयाँ ५० पैसा) । जबकि, नेपाल राष्ट्र बैंकले ५० पैसाको सिक्का छाप्न छाडेको धेरै वर्ष भइसक्यो । ५० पैसाको सिक्का बजारमा चलनचल्तीमै छैन । राष्ट्र बैंकले ५० पैसाका सिक्का नछाप्नु र नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य त्यसरी तोक्नु, संयोगमात्र होइन, बद्नियत नै हो । उपभोक्ताले एक लिटर पेट्रोल, डिजेल या मटितेल किन्छु र तोकिएअनुसार नै मूल्य तिर्छु भन्दा किन नपाउने ?

यी कुनै नयाँ मुद्दा होइनन्, तर स्थापित भइसकेका गलत प्रवृत्ति हुन् । यस्ता प्रवृत्तिले मौद्रिक बेथिति निम्त्याउँदै लगेका छन् ।

हामी कन्डक्टरसँग डटेर एक–दुई रुपैयाँ फिर्ता माग्ने मनस्थितिमा हुँदैनौं । अथात्, एक–दुई रुपैयाँ फिर्ता गर्नुभन्दा झगडा गर्न तम्सिने कन्डक्टरका पछि लागिरहन सम्भव पनि हुँदैन । त्यसबेला यातायात व्यवसायीको गलत आचरण र नियतको सिकार बन्नुको विकल्प हामीसँग हुँदैन । तर, विचार गरौं, यो सरासर ठगी हो । हामीबाट एक–दुई रुपैयाँ ठग्ने यातायात व्यवसायीले दिनभरमा राजधानीमा ११ लाख यात्रु ओसार्छन् (तथ्यांक : यातायात व्यवस्था विभाग) । यी मध्ये छोटो दूरीका पाँच लाख यात्रुमात्र ठगिए भने महिनाभरमा डेढ करोड रुपैयाँ ठगी हुन्छ । दैनिक उपभोग्य वस्तुमा पनि चानचुन फिर्ता गर्नुभन्दा एक–दुई रुपैयाँ मूल्य बढाएर करोडौं ठगी भइरहेको छ ।

हुन सक्छ, यी र यस्तै विविध कारणले हामीमा पनि ‘जाबो एक–दुई रुपैयाँ त हो नि !’ भन्ने भाव विकास हुँदै गएको छ । तर, एक–दुई रुपैयाँ कहिल्यै ‘जाबो’ हुँदैन र हुनु पनि हुँदैन । किनकि, यसले नै मौद्रिक बेथितिलाई प्रश्रय दिन्छ । अहिले पाँच–दस रुपैयाँको मूल्य पनि यसैगरी कमजोर हुँदै गइरहेको छ । मुद्राको मूल्यमा ह्रास आउनु राम्रो होइन । कम अंकित दरका मुद्राको मूल्यमा ह्रास आउन नदिन राष्ट्र बैंक सजग हुनुपर्छ र त्यसैको आडमा बजारमा बजारमा बेथिति निम्तिन नदिन सरकार चनाखो बन्नुपर्छ । एक–दुई रुपैयाँ हुँदै उपभोक्ताबाट करोडौं रुपैयाँ दोहन हुँदा सरकार पनि टुलुटुलु बस्न मिल्दैन ।

 

राष्ट्र बैंकसँग सिक्का छैन ?
नेपाल राष्ट्र बैंकले एक र दुई रुपैयाँका सिक्का कम छापेर बेथिति बढेको होइन । राष्ट्र बैंकमा जति पनि सिक्का छ । राष्ट्र बैंकमा ठूलो मात्रामा सिक्का थन्किरहे पनि बजारले पर्याप्त माग नगर्दा आपूर्ति सुस्त भएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । बजारबाट सिक्काको माग नहुनु सिक्काप्रतिको बेवास्ता बढ्दै गएको प्रस्ट पार्छ ।

के वस्तुको मूल्यवृद्धि धेरै हुँदा साना अंकित मुद्राको मूल्य घटेको हो ? त्यसो पनि होइन । स्मरण रहोस्, जापान र नेपालको मुद्राको विनिमय दरमा खासै अन्तर छैन । माघ ८ गतेका लागि राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार १० रुपैयाँले १०.३८ येन किन्न सकिन्छ । यसको अर्थ, नेपाली रुपैयाँ र जापानी येनको मूल्य उस्तै छ । वस्तुको मूल्यसँग तुलना गर्दा, टोक्योमा एक किलो आलुलाई चार सय येनभन्दा बढी पर्छ भने दूध प्रतिलिटर दुई सय येनभन्दा महँगो छ । काठमाडौंमा यो वर्ष आलुको औसत मूल्य प्रतिकिलो ३५ रुपैयाँ रह्यो भने दूध ८० रुपैयाँ लिटर जति पनि पाइन्छ । तर, जापानमा कम अंकित दरका मुद्राको प्रयोगलाई बेवास्ता गरिएको छैन । बरु जापान सरकारले कम अंकित दरका सिक्काको प्रयोगलाई उत्ति नै महत्व दिएको छ । जापानमा सानो एक येन र ठूलो १० हजार येनका नोट चलनचल्तीमा छन् । नेपालमा एक हजार रुपैयाँसम्मका नोट प्रयोगमा छन् । साना सिक्काको प्रयोगमा सरकार नै बढी जिम्मेबार हुनुपर्छ ।

 

कहाँ छ समस्या ?
चलनचल्तीमा नआउने ‘पैसा’को प्रयोगलाई ‘फेज आउट’ गर्न सकिन्छ । तर, राष्ट्र बैंकले आफ्नै हिसाबले ५० पैसाका सिक्का छाप्न छाड्ने अनि सामानको मूल्यचाहिँ पैसामा राख्ने गर्न हुँदैन । पूर्व अर्थसचिव रामेश्वर खनाल पनि ‘पैसा’को प्रयोगलाई हटाउनुपर्ने तर एक–दुई रुपैयाँको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । ‘पैसा’को प्रयोग हटाउन सके सरकारी तथा गैरसरकारी रकमको हिसाब मिलानमा सहजता आउनुका साथै गल्ती हुने सम्भावना कम हुन्छ । कर्मचारीलाई पनि काम गर्न सहज हुन्छ । धेरै देशले प्रयोगका आधारमा ‘पैसा’मा आउने मुद्रालाई ‘फेज आउट’ गर्दै लगेका छन् । ‘तर एक–दुई रुपैयाँको सिक्का प्रयोगलाई बेवास्ता गर्नु नीतिगत ठगी हो,’ खनाल भन्छन्, ‘उपभोक्ता हितका पक्षमा सरकार निरीह देखिएको छ, यस्तो कुनै देशमा पनि हुँदैन ।’

अर्थविद् एवं पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री अधिकांश सार्वजनिक यातायातमै आवतजावत गर्न रुचाउँछन् । सार्वजनिक यातायातमा यस्ता समस्या धेरै खेप्नुपरेको बताए । चानचुनको प्रयोगमा सरकारले ध्यान नदिँदा अनुचित फाइदा उठाउनेलाई सहज भएको उनको बुझाइ छ । ‘आंशिक कमजोरी हाम्रो पनि छ तर फिर्ता माग्दा नदिनुजतिको निकम्बापन के हुन सक्छ,’ उनले न्युज कारोबारसँग भने, ‘सँगै बसेका यात्रुले पनि ठग्नेभन्दा ठगी गर्नेलाई प्रस्रय मिल्ने गरी व्यवहार गर्दा समस्या निम्तिएको हो ।’ सिक्काको प्रयोग हराएका कारण निम्तिन सक्ने मौद्रिक बेथिति रोक्न एक–दुई रुपैयाँका कागजी नोट छाप्नुपर्ने उनको सुझाव छ ।

 

जिम्मेवारी कसको ?
बजारमा बेथिति बढ्नुको मुख्य जिम्मेवार निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हो । ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीले घटनास्थलमै कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ । तर, बजारमा मनपरी गर्नेलाई कारबाही गर्ने कानुन नै छैन । उपभोक्ता हित संरक्षण ऐनमा त्यस्तो व्यवस्था नै छैन । उपभोक्ताले कुनै पनि सामान या सेवाका लागि पैसा तिरिसकेपछि लाग्नेजति लिएर बाँकी सबै फिर्ता गर्नुमात्रै व्यावसायिक आचरण हो । यसभन्दा बाहेकका सबै गतिविधि ठगी हो । तर, कारबाहीका लागि कानुन नहुँदा ठगी गर्नेले ठगिरहन्छ र ठगिने ठगिइरहन्छ । यसले ठगीमा सरकारको मौन समर्थन प्रस्ट पारेका छ ।

 

समाधान के ?
उपभोक्ताको हितमा कानुन बनाउने सन्दर्भमा सरकारी तवरबाट सधैं बेवास्ता हुँदै आएको छ । पहिलो त, उपभोक्तामाथिको ठगी रोक्न कानुन नै बलियो हुनुपर्छ । उपभोक्तालाई एक–दुई रुपैयाँ पनि ठग्नेलाई पाँच हजार रुपैयाँ कारबाहीको व्यवस्था भयो भने व्यापारी सतर्क भइहाल्छन् । उपभोक्तालाई पनि न्याय माग्न सजिलो हुन्छ । दोस्रो, ‘पैसा’ छापिँदैन भने वस्तुको मूल्य पनि ‘पैसा’मा तोकिनु हुँदैन, रुपैयाँमा मात्र तोकिनुपर्छ । तेस्रो, यात्रुले अनिवार्य टिकट पाउने व्यवस्था गर्ने हो भने टिकटमा तोकिएभन्दा बढी रकम लिन त्यति सहज हुँदैन । र, चौथो, कन्डक्टरले अनिवार्य झोलामा सिक्का बोकेको छ कि छैन ट्राफिक प्रहरी महाशाखाले अनुगमन गर्नुपर्छ ।

उपभोक्ता हित प्रवद्र्धन सरकारको मुख्य दायित्व हो । सरकारले बजारलाई नीति–नियमको दायरामा राख्ने हो । बजारले नै सरकार चलाउने अवस्था आउनु हामी कसैको हितमा हुँदैन ।