काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीमा घटे कुष्ठरोगी

25.2K
shares

कर्णाली प्रदेशमा विगतका वर्षभन्दा कुष्ठरोगका बिरामीको संख्यामा कमी आएको छ ।

प्रदेशका १० जिल्लाका तथ्यांकअनुसार कुष्ठरोगका नयाँ थपिने बिरामीको संख्या विस्तारै न्यून बन्दै गएको हो । गत आर्थिक वर्ष २०७४–०७५ मा ११५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यो तथ्यांक आर्थिक वर्ष २०७२–०७३ को तुलनामा कम हो ।

कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा कुष्ठरोगी बिरामीको नै नभएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए । उनका अनुसार तीन जिल्लामा कुष्ठरोगी भेटिएका छैनन् ।

६६ औं कुष्ठरोग दिवसको पुुर्वसन्ध्यामा स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले तीन जिल्लामा कुष्ठरोगी फेला नपुर्नको कारण खोजी नगरेकाले भएको हुनसक्ने बताए । ‘हामीले त्यहाँ गएर खोजी गरेका छैनौं’ उनले भने, ‘खोजी गरे त्यहाँ पनि भेटिन सक्छन् ।’

सबैभन्दा बढी नयाँ कुष्ठरोगी सल्यानमा फेला परेका छन् । सल्यानमा गत आर्थिक वर्षमा ३२ जना कुष्ठरोगी फेला परेका थिए । रुकुम पश्चिममा २१ जना फेला पर्दा जाजरकोटमा २४ र सुर्खेतमा २० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यस्तै, दैैलेखमा ७, कालिकोटमा १० र मुगुमा तीन जना फेला परेको केसीले जानकारी दिए ।

कुष्ठरोग अब सामान्य भइसकेको बताउँदै केसीले कुष्ठरोगबारे जनस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताए । कर्णालीमा कुष्ठरोग निराकरण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्यक्टेरियम लेप्रे नामक किटाणुबाट लाग्ने गर्दछ ।

कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विनोद आचार्य बताउँछन् । उनका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रंगको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखा पर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् ।

‘कुष्ठरोगलाई न्युनिकरण गर्न कुष्ठरोगका बिरामीहरु खुल्नमा डराउनु हुँदैन्’ आचार्यले भने, ‘जनस्तरमा अझै पनि कुष्ठरोग लागेमा लुकाउने संस्कार कायम रहेकाले सचेतनामूलक अभियान पनि चलाउन आवश्यक छ ।’ कुष्ठरोग भएमा कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकाले एक वर्षसम्म औषधी सेवन गरे निराकरण हुने आचार्यले उल्लेख गरे ।

नेपालमा हाल दश हजार जनामध्ये एक जनालाई कुष्ठरोग संक्रमण भएको पाइएको निर्देशनलयले जनाएको छ । तर सरकारले सन् २०२० सम्म उक्त संख्यालाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।