गृहपृष्ठ पूँजीगत खर्च बढाउन खानेपानी मन्त्रीको निर्देशन
पूँजीगत खर्च बढाउन खानेपानी मन्त्रीको निर्देशन
खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्य हासिल गर्ने उदेश्यले आगामी योजनाहरु तयार गरी अघि बढाउन निर्देशन दिएकी छन् ।
खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा मन्त्री मगरले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी हुन् । उनले खानेपानी र सरसफाई जस्तो विषय जनताको मौलिक अधिकारसँग जोडिएकाले दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औंल्याइन् ।
बजेटमा निर्धारित योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गरी पूँजीगत खर्च बढाउन समेत मन्त्री मगरले मन्त्रालय मातहत रहेका निकायहरुलाई निर्देशन दिएकी छन् । बैठकमा मन्त्रालयको अष्ठमासिक अवधिसम्मको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत रहेको जानकारी गराइएको थियो ।
खानेपानी मन्त्रालय अन्तर्गत ३ सय ९७ र प्रदेश सरकार अन्तर्गत ४ हजार ५७ खानेपानीका आयोजनाहरु सञ्चालनको क्रममा छन् ।
प्रकाशित समय : ०१:०२ बजे




















