global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पर्यटन प्रवर्द्धन गर्न ‘नेपालसम्मको यात्रा’ अभियान

पर्यटन प्रवर्द्धन गर्न ‘नेपालसम्मको यात्रा’ अभियान

पर्यटन प्रवर्द्धन गर्न ‘नेपालसम्मको यात्रा’ अभियान

लिस्बन । पोर्चुगलमा चर्चित नेपाली सेफ टङ्क सापकोटाले नेपाली खाना, संस्कृति तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपालसम्मको यात्रा’ अभियान सुरु गरेको छ ।

आफू पोर्चुगल आएको ३० वर्ष पूरा भएका अवसरमा सापकोटाले राजधानी लिस्बनमा सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट ‘काजा नेप्लिजा’ (नेपाली भान्सा घर) मा उक्त अभियान सुरु गरेको हो ।

अभियानअन्तर्गत सापकोटाले नेपाल र पोर्चुगलका असहाय तथा अनाथ बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर ‘परोपकारी रात्रिभोज कार्यक्रम’ सञ्चालन गरेको छ ।

वार्षिक कार्यक्रमका रूपमा सञ्चालन हुने रात्रिभोजमा नेपाली खाना र परिकारका साथै नेपाली संस्कृति तथा नेपालको प्राकृतिक सौन्दर्य झल्किने दृश्य प्रस्तुत गरिनेछ । यस्तै नेपाली कलाकारद्वारा साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति पनि दिइनेछ ।

‘पोर्चुगिज’ समुदायलाई नेपाली संस्कृति, परम्परा, नेपाली खाना र परिकारका साथै नेपालको प्राकृतिक सौन्दर्यसँग परिचित गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नेपालसम्मको यात्रा’ अभियान सञ्चालन गरिएको सापकोटाले बताए । कार्यक्रममा नेपाली खाना र परिकारसँगै सांस्कृतिक प्रस्तुति, सङ्गीत, नृत्य तथा नेपालको दृश्य–प्रदर्शनी समावेश गरिएको उनले बताए ।

सापकोटाका अनुसार नेपाली परिकार, स्वाद, नृत्य, सङ्गीत र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गरी सहभागीलाई नेपाल भ्रमणको अनुभूति दिलाउने प्रयास गरिएको हो । पोर्चुगिज समुदायलाई ‘हिमालयको देश’ नेपालको प्रकृति, संस्कृति र परिकारलाई नजिकबाट चिनाउने ‘सांस्कृतिक यात्रा’का रूपमा ‘नेपालसम्मको यात्रा’ अभियान सञ्चालन गरिएको सापकोटाले बताए।

रात्रिभोज (च्यारिटी डिनर) मेनुमा नेपाली खानाका परिकार र स्वाद समेटिएको छ । जसमा दालभात, गुन्द्रुक, तरकारी समोसा, मःम, कुखुराको विशेष परिकार, तामा र बोडीको तरकारी, खसीको मासु तथा परम्परागत नेपाली खानाका परिकार समावेश गरिएको छ ।

यस्तै, जन्मभूमि बागलुङका साथै नेपालबाट ल्याइएका सामग्री र पोर्चुगलको सामग्रीको संयोजन गरेर खानाका परिकार तयार गरिएको छ । अभियानअन्तर्गत सहभागीले नेपाली खानासँगै नेपालको मौलिक संस्कृति र आतिथ्यताको अनुभव लिनेछन् । रात्रिभोज कार्यक्रममा पोर्चुगलका विभिन्न सरकारी निकायका उच्च अधिकारीहरू, पोर्चुगिज व्यवसायी तथा स्थानीय सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको उनले बताए ।

रात्रिभोजमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल पनि सहभागी हुनुभएको थियो । नेपाली खाना, परिकार र संस्कृतिलाई पोर्चुगिज समुदायसम्म पु¥याउँदै नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पु-याउने सापकोटाको अभियान प्रशंसनीय रहेको राजदूत पौडेलले बताए ।

सामाजिक सेवासँग जोडिएका यस्ता अभियानले पोर्चुगिज समुदायमाझ नेपाल र नेपालीको सकारात्मक छवि उजागर गरेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले नेपाली संस्कृति, खाना र परिकार तथा नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।

सो अवसरमा सांस्कृतिक वेषभुषामा सजिएका नेपाली कलाकार दुर्गा थापा, अर्जुन सोनामलगायतले नेपाली संस्कृति झल्कने खालका सांस्कृतिक प्रस्तुति दिएको थियो । सापकोटाले नेपाललाई नेपाली परिकार, संस्कृति, परम्परा र पर्यटनका माध्यमबाट अन्तरराष्ट्रिय समुदायमा चिनाउन चाहेको बताए । “नेपाल संसारकै सुन्दर देशमध्ये एक हो । नेपालको संस्कृति, प्रकृति र खानाको आफ्नै विशेषता छ । पोर्चुगलका मानिसले पनि नेपाललाई नजिकबाट चिनुन् र सकेसम्म धेरै पोर्चुगिज पर्यटक नेपाल भित्र्याउन सकियोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो”, सापकोटाले  भने ।

रात्रिभोजमा सहभागी पोर्चुगिजहरूले नेपाली परिकार, स्वाद, बनाउने शैली र त्यससँग जोडिएको संस्कृति र परम्पराबारे निकै चासोका साथ जिज्ञासा राख्ने गरेको सेफ सापकोटाले बताए। सहभागीलाई नेपाली खाना, त्यसको स्वाद, विशेषता, त्यसमा प्रयोग गरिएका सामग्री र नेपाली संस्कृतिसँग जोडिएका खानाका महत्वबारे पनि जानकारी दिने गरिएको उनले बताए ।

नेपाली खानासँगै नेपाली आतिथ्यता, पारिवारिक संस्कार, भेषभुषा, सङ्गीत, नृत्य तथा नेपाली जीवनशैलीबारे जानकारी गराउँदै नेपाललाई केबल स्वादका माध्यमबाट मात्र नभई संस्कृतिको अनुभवका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको उनले बताए ।

“तीन दशकअघि अवसरको खोजीमा पोर्चुगल आएको थिए । आज यही भूमिबाट आफ्नो मातृभूमिको स्वाद, संस्कृति र पहिचान प्रस्तुत गर्न पाउनु मेरा लागि गर्वको विषय हो”, सापकोटाले भने, “यो अभियानको मुख्य उद्देश्य नेपालको सांस्कृतिक पहिचान र पर्यटनको सम्भावनालाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्नु हो ।” एक वर्षसम्म प्रत्येक महिनाको पहिलो आज सञ्चालन हुने उक्त कार्यक्रमबाट उठ्ने सम्पूर्ण रकम एसओएस बालग्राम नेपाल र एसओएस चिल्ड्रेनस् भिलेज पोर्चुगललाई ५०–४० प्रतिशत सहयोग रकम प्रदान गरिने सापकोटाले बताए ।

सन् १९९६ मा पोर्चुगल आएका बागलुङ, दमकका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुरेन्ट सञ्चालनमा छन् । पाककलामा उत्कृष्ट कला कौशल प्रदर्शन गरेकै कारण उनले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकालार्ई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खानासमेत खुवाएको थियो ।

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु