गृहपृष्ठ ‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने
‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेको र वाचापत्रअनुसार नीति तथा कार्यक्रम संसद्मा पेस भएको बताउँदै त्यसअनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिएको छ ।
कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको कान्तिपुर ‘इकोनमिक समिट’लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्रीले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्त्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । जनतालाई सुशासनको लाभांश दिने प्रयासमा सरकार रहेको उनको कथन थियो ।
मन्त्री वाग्लेले आगामी बजेट ‘इ–गभर्नेन्स, डिजिटल डेलिभरी’ र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने जानकारी दिँदै डिजिटलमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए ।
सूचना तथा प्रविधि क्षेत्रसँग सम्बन्धित सबै काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुने जानकारी दिँदै उनले आयातमा आधारित अर्थतन्त्रको पुनर्संरचना गरिने बताए । मितव्ययितालाई पनि सरकारले प्राथमिकतामा राखको तथा आवश्यकताका आधारमा विदेशमा नेपाली नियोग सञ्चालन गरिने उनको कथन थियो ।
त्यसअघि अर्थ सचिव घनश्याम उपाध्यायले सरकारको पहिलो प्राथमिकता सुशासन नै भएको बताए । निजी क्षेत्रको आत्मबल बढाउन जरुरी भएको विचार व्यक्त गर्दै उनले नीतिगत व्यवस्थाबाट त्यसो गरिने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति गराउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
प्रकाशित समय : २०:१७ बजे




















