गृहपृष्ठ ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु : श्रममन्त्री यादव
ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु : श्रममन्त्री यादव
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताएका छन् ।
यसैअन्तर्गत आफू मन्त्री भएयता २५ दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका ४० हजार मुद्दामध्ये, १३ हजार मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको उनले बताए । जसमध्ये, आठ हजार मुद्दा डिजिटलाइजेसन भइसकेको मन्त्री यादवले जानकारी दिए ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले उक्त जानकारी दिएका हुन् । उनका अनुसार १३ हजार मुद्दा कारबाही प्रक्रियामा छ । यसैका लागि मन्त्रालयले १० जना अनुसन्धान अधिकृतको माग गरेको छ । ‘आठ हजार मुद्दा डिजिटलाइज गरिसकेका छौँ’, उनले भने, ‘अरू हुँदै छ । सत्ताइस हजार मुद्दामध्ये, केही मुद्दा जेनजी आन्दोलनमा जलेको अवस्थामा छन् ।’
मन्त्री यादवले विमानस्थलको आगमन र प्रस्थान विन्दुमा आएकामध्ये, ४३४ जनालाई वैदेशिक रोजगार जाँदा भोग्नुपरेका समस्या विषयमा १७ वटा प्रश्न सोधेर वस्तुस्थितिका जानकारी लिने कार्य पनि मन्त्रालयले गरिसकेको बताए ।
जसमध्ये, धेरैले उत्तर दिन चाहेको र उत्तर दिएकामध्ये, ३८ प्रतिशत व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको भेटिएको उनको भनाइ छ ।
उनले अब मन्त्रालयले सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको जानकारी दिए । आगामी साताभित्रै यो व्यवस्था लागू हुने उनको भनाइ थियो ।
त्यस्तै, वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेल्लो सरकारबाट र ह्वाट्सयापबाट आएको गुनासोका आधारमा मन्त्रालयले २५ दिनभित्र १७८ जनालाई उद्धार गरेको उनले बताए ।
उनले भने, ‘पच्चीस दिनमा नौ जना ठगी गर्नेलाई कारबाही गरेका छौँ, वैदेशिक रोजगारमा ठगी गर्नेको ‘कनेक्सन’ नै भेटाउन चुनौती छ ।’
बैठकमा समितिका सभापति रहबर अन्सारीले वैदेशिक रोजगारको समस्या आजको भोलि नै शून्य गराउन सकिने अवस्था नरहेको बताउँदै यसको सुधार गर्न कानुनी सुधारमा जोड दिए ।
बैठकमा सांसदहरू बुद्धिप्रसाद पन्त, प्रकाशसिंह कार्की, प्रकाश पाठक, रन्जु दर्शना, टेकबहादुर शाक्य, प्रभा कार्की लगायतले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमीबीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउनेलगायत विषयमा आफ्ना सुझाव राखेका थिए ।
प्रकाशित समय : १८:५९ बजे


















