नेकपाका शीर्ष नेताबीच बालुवाटारमा छलफल, सचिवालय बैठक ३ बजे
वि.सं.२०७६ जेठ २१ मंगलवार १७:५२
shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले कि प्रधानमन्त्री कि पार्टी अध्यक्ष छाड्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाभित्र बैठकका शृंखला बाक्लिएका छन् । प्रचण्डको अभिव्यक्तिमाथि दोस्रो, तेस्रो तहका नेताहरूले दुई धारमा रहे टिप्पणी गर्न थालेपछि यो विषय थप पेचिलो बनेको छ ।
आफू दिल्ली भ्रमणमा रहेका बेला उठेको यो विषयको प्रतिकार केपी ओलीले उतैबाट पनि गरेका थिए । फर्किएपछि पनि नेकपाभित्रको राजनीति गरमागरम बन्दै गएको छ । पार्टी नेतृत्व या सरकार सञ्चालनको विषयकबाट सुरु भएको बहस ‘जनताको बहुदलीय जनवाद (जबज)’ तिर मोडिँदै छ । नेताहरूले केही संयमता देखाए भित्रभित्रै भुसको आगोजस्तै गरी यो मुद्दा फैलिरहेको छ ।
आफ्नो अभिव्यक्तिले अर्का अध्यक्ष ओलीको चित्त दुःखेको पाएपछि प्रचण्डले केपी ओलीकै नेतृत्वमा ५ वर्ष यो सरकार ‘जानसक्ने’ प्रस्टीकरण पनि दिए । उनको भनाइको तात्पर्य भने ‘अध्यक्ष पद छाडे’ भन्ने सर्तसँग जोडिएको छ । तर, उनको प्रस्टीकरणले मात्रै भुसको आगो निभ्ने संकेत देखिँदैन । पूर्व एमाले र पूर्व माओवादी खेमा यो विषयमा नजानिँदै गरी मैदान उत्रिसकेको छ । सामाजिक सञ्जालदेखि विभिन्न फोरममा पनि एउटा खेमाले अर्को खेमामाथि प्रहार सुरू गरिसकेको छ ।
पार्टी एकताका लागि सिद्धान्तविहीन बनेको नेकपा एक वर्ष नपुग्दै मनोमालिन्यको रापमा सेकिन थालेपछि शीर्ष नेताले सक्रियता बढाएका छन् । नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओलीले हिजो माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । यसअघि, ओली र प्रचण्डबीच पटक–पटक छलफल भएको थियो ।
नेकपाका तीन शीर्ष नेताबीच मंगलबार बिहान पनि बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालबीच छलफल भएको हो ।
मंगलबारका लागि बोलाइएको सचिवालय बैठकको एजेन्डा तय गर्न शीर्ष नेताबीच छलफल भएको बताइएको छ । सचिवालयको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

























