कृषि विश्वविद्यालयले स्नातक र स्नातकोत्तरमा थप तीन विषय पढाउने
वि.सं.२०७६ जेठ २१ मंगलवार १९:२९
shares

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिक सत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इन्जिनियरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. ईश्वरीप्रसाद ढकालका अनुसार स्नातकको एग्री इन्जिनियरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको छ । हर्टिकल्चर रामपुरमा वा बाहिर कहाँ चलाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
त्यसैगरी डेरी टेक्नोलोजी विषयका लागि पनि सबै तयारी पूरा भएको छ भन्दै उनले आउँदो शैक्षिक सत्रबाट ती सबै विषयको अध्यापन गराइने बताए । ती विषयको पाठ्यक्रम तयार भइसकेका छन् । विसं २०६७ असार ३ गते स्थापना भएको उक्त विश्वविद्यालयमा हाल स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा कृषि, भेटेरिनरी, पशु विज्ञान, मत्स्य विज्ञान र वनको पढाइ हुँदै आएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित छ आंगिक क्याम्पस सञ्चालन हुँदै आएका छन् । कास्कीको पुरनचौर, सिन्धुलीको कपिलाकोट, धनकुटाको पाख्रिबास, कैलालीको टीकापुर, महोत्तरीको बर्दिबासमा कृषि स्नातक र उदयपुरको कटारीमा वन स्नातकको पढाइ हुँदै आएको छ । (रासस)

























